काठमाडौं। तेल चोरी रोक्न नेपाल आयल निगमले तेल आयात गर्ने १ हजार ९ सय ट्यांकरमा ताला प्रणाली जडान गरेकेा छ । निगमले यसअघि नै ‘सुरक्षित लकिङ प्रणाली’ सम्बन्धी कार्यविधि सार्वजनिक गरेको थियो ।सोही कार्यविधिमा तोकिएनुसार ढुवानीका क्रममा हुने तेल चुहावट रोक्न निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली (लकिङ) फिट गरेको हो ।
मका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईले विभिन्न स्थानबाट तेल ढुवानी गर्ने १ हजार ९ सय ट्यांकरमा यस्तो लकिङ फिट गरिएको बताए । उनका अनुसार तेल चोरी हुने समस्या दोहोरिन नदिन यस्तो प्रणाली जडान गरिएको हो ।
आयल निगमले फिट गरेका ताला भारत सरकारले उपलब्ध गराएको हो । भारतीय आयल निगमले यसअघि नै २ हजार २ सय ताला नेपाल आयल निगमलाई प्रदान गरेको थियो ।
नेपाल आयल निगमले भारतीय आयल निगमका बरौनी, रक्सौल, बेतालपुर, मुगलसरा, गोन्डा, अलाहवाद र बन्थरा डिपोबाट तेल आपूर्ति गर्ने गर्दछ । ती सबै डिपोबाट तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाइएको उनले बताए ।
निगमका निमित्त प्रमुख भट्टराईले निगमले अल्लाहवाद ‘टर्मिनल’ बाट तेल ढुवानी गर्ने ट्यांकरमा लकिङ फिट गरेसँगै पहिलो चरणमा भारतीय आयल निगमका डिपोबाट नेपाल आयल निगमको डिपोसम्म तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाउने काम सकिएको छ । तेल ढुवानीका लागि नयाँ ट्यांकर थप भएमा आवश्यकतानुसार त्यस्ता ट्यांकरमा पनि यो प्रणाली जडान गर्दै लैजाने निगमको योजना छ ।
ट्यांकरमा ताला लगाएपछि त्यसको एउटा साँचो निगमसँग हुनेछ । तेल ढुवानी गरेर हिँडेपछि एकैपटक सम्बन्धित पम्पमा मात्र ताला खोल्न मिल्ने भएकाले बीचमा अपचलन हुने सम्भावना नरहने विज्ञ बताउँछन् । विगतमा तेल चोरीका घटना अत्यधिक हुन थालेपछि लामो बहस र छलफलको निष्कर्षअनुरूप यो प्रणाली लागू गरिएको हो ।
पहिलो चरणको ताला लगाउने काम सकिएसँगै अब दोस्रो चरणको काम सुरु हुनेछ । नेपालमा करिब २० किलोलिटरसम्म इन्धन बोक्ने ट्यांकर छन् ।