काठमाडौं ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । यसले नेपाली रुपैयाँ अझ सस्तो बनेको छ । अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा डलरको भाउ निरन्तर बढिरहेको छ । ६ महिनामा डलरको भाउ १५ रुपैयाँ बढेको हो ।
नेपाली रुपैयाँ कमजोर बन्दा नेपालमा त्यसको मिश्रित प्रभाव पर्ने गर्दछ । जसका कारण रेमिट्यान्स प्राप्त गर्ने परिवार र निर्यात गर्नेहरुका लागि उल्लेख्य फाइदा हुने भए पनि आयात व्यापारमा संलग्न निकाय र डलरका पीपीए भएका जलविद्युत् आयोजनामा असर पर्छ । नेपालको व्यापार असन्तुलन उच्च रहेका कारण निकासीको तुलनामा पैठारी व्यापार अत्यधिक भएकाले डलरको मूल्य बढ्दा नेपाललाई घाटा हुने अर्थशास्त्रीहरू बताउँछन् ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि यसको सिधा असर नेपाली मुद्रामा पर्छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विनिमय दर प्रतिडलर ११७ रुपैयाँ ६५ पैसा तोकेको छ । बुधबार यो मूल्य ११६ रुपैयाँ ९६ पैसा थियो ।
राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर रहेकोले भारतको मुद्रा कमजोर बन्दा त्यसको असर स्वतः नेपाली बजारमा पर्ने बताए । उनका अनुसार पछिल्लो समय अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले त्यसको सकारात्मक प्रभावले अमेरिकी डल बलियो बनेको हो ।
कच्चा तेलको मूल्यमा भएको वृद्धिसँगै चिनियाँ मुद्रा युआन कमजोर बनेको र नीति बलियो बन्दै गएका कारण अमेरिकी डलरको विनिमय दरको प्रभाव नेपालमा पर्न थालेको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले अमेरिकी डलरको विनिमय दर पछिल्ला दिनमा बढ्दो रहेको र यो क्रम अझै रहन सक्ने बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि अमेरिकी डलरको भाउ बढेको हो । कच्चा तेलको भाउ बढेको कारण त्यसको सीधा असर भारतीय अर्थतन्त्रमा परेको छ । भारतसँगको स्थिर विनिमय दरका कारण त्यो अंश नेपालमा पनि देखिएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थविद् सुशीलराम माथेमा बताउँछन् । उनका अनुसार आयातीत तेलको भुक्तान डलरमा गर्नुपर्ने हुँदा कच्चा तेलको मूल्य बढेको हो ।
डलर मजबुत बन्दा कमजोर आर्थिक अवस्था भएका देशका लागि सकारात्मक र नकारात्मक दुवै (मिश्रित) प्रभाव पर्छ । यसले खासगरी प्रतिपत्रमार्फत विदेशी मुद्राको कारोबारमा नकारात्मक असर पर्छ । सो प्रभावले भारत र चीनबाहेक तेस्रो मुलुकबाट आयात गरिने सामानको मूल्य बढ्छ । विदेशमा बसेर काम गर्नेले कमाएर पठाउने पैसा (रेमिट्यान्स) आयमा भने यसले सकारात्मक प्रभाव पार्ने कार्यकारी निर्देशक ढुंगानाले बताए । चिनियाँ युआनको मूल्य घटेकाले चिनियाँ सामानको मूल्य भने कम पर्नेछ ।
देशको मुद्रा कमजोर हुँदा निर्यात व्यापार प्रवद्र्धनमा सहज हुन्छ । पहिलेको भन्दा सस्तोमा वस्तु बिक्री हुने भएकाले निर्यात बढाउन सक्ने अवस्था रहन्छ । तर नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने अवस्था नदेखिएको माथेमा बताउँछन् ।
डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने भएकाले स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुन्छ । यसको बढी मार सरकारी स्वामित्वमा रहेका नेपाल आयल निगम र डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) भएका जलविद्युत् आयोजनाको रकम भुक्तानीमा पर्छ । डलरको मूल्य बढेको बेला कामदारहरूले जम्मा गरेर राखेको पैसा नेपाल पठाउँछन् र रेमिट्यान्स आप्रवाह बढ्ने सम्भावना रहन्छ ।राजधानी दैनिकबाट