११ असोज, बुटवल ।
नेपाल कम्युनिस्ट पार्टीका नेता एवं केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘असल’लाई रुपन्देही प्रहरीले मकवानपुर पठाएको छ ।
जिल्ला अदालतले विष्फोटक पदार्थको मुद्दामा असोज ४ गतेको बहसपछि धरौटीमा रिहा गर्न आदेश दिएकोमा हिजो बुधबार मात्र धरौटी रकम बुझाएर रिहा भएका उनलाई मकवानपुर जिल्लाको पालुङमा मेशिनरी सामाग्रीमा आगजनीको मुद्दा परेको जनाउँदै प्रहरीले हिजै गिरफ्तार गरी इलाका प्रहरी कार्यालयल बुटवलमा राखिएको थियो ।
बन्दी नेता असललाई आज बिहान सवा ६ बजे स्कार्पियो गाडीमा राखेर मकवानपुर पठाइएको स्रोतले जनायो । असलविरुद्ध मकवानपुर प्रहरीमा ‘संगठित अपराध’को मुद्दा दर्ता रहेको खुल्न आएको ब्यहोरा प्रहरीले असोज ४ मा अदालतमा भएको बहसका लागि प्रस्तुत अभियोगपत्रमा समावेश गर्दै निज बन्दी छुटी जाने भएमा इलाकामै पठाउने व्यवस्था मिलाउन ईप्रका बुटवलले अदालतसमक्ष अनुरोध गरेको थियो ।
सोही बमोजिम अदालतबाट आदेश भइआएको थियो । धरौटी रकम नबुझाउँदा आदेश भएकै दिन जिल्ला कारागार चलान भई ६ दिन जेल बसेका थिए । असललाई पार्टी कामको सिलसिलामा काठमाडौं आइरहेको बेला गएको भदौ ५ गते धादिङको नौबिसेबाट सादा पोशाकका नकावधारीको एक दर्जनको प्रहरी टोलीले बसबाट ओरोलेर गिरफ्तार गरी स्कार्पियो गाडीमा राखेर बेपत्ता बनाइएको थियो । त्यसपछि भोलिपल्ट बिहान ९ बजेतिर काठमाडौंको टेकु प्रहरी कार्यालयबाट सार्वजनिक गरियो ।
गिरफ्तार रातभर चरमरुपमा शारीरिक यातना र मानसिक यातना दिइएको थियो । यातनाबाट असलको टाउको र पैदलमा गहिरो चोट लागेको छ । उपचारको अभावमा उनी अहिले उभिन र सिधा बस्न सक्दैनन् ।
तर मकवानपुर जिल्ला प्रहरीले भने खडका अहिलेसम्म आइपुगिसकेको बतायो ।