प्रचण्डकाे चीन भ्रमणः नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा केन्द्रित

प्रचण्डकाे चीन भ्रमणः नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा केन्द्रित

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, असोज ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।

चारदिने चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयनका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिए ।

दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको बताउँदै उनले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरे । दाहालले भने, ‘दुई वटा सरकारकाबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्ध ढङ्गबाट कार्यान्वयनका निम्ति वातावरण बनाउने मुख्य उद्देश्यमा सफलता मिलेको छ ।’

भ्रमणका क्रममा आफूले चीनका उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रुपमा छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार गर्ने विषयमा सौहार्दपूर्ण तवरले विचार विमर्श भएको बताए ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा नाङकिङमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्न आफूलाई निमन्त्रण गरिएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री दाहालले भने, ‘दुई देशका पार्टीको सम्बन्ध सुदृढ गर्ने बारेमा वैचारिक, राजनीतिक, साङ्गठनिक दृष्टिले गम्भिर छलफल भयो ।’

उनले छलफलमा दुईवटा पार्टीका केन्द्रीय पार्टी स्कूलका बीचमा नियमित विचार तथा अनुभवको आदानप्रदान गर्न संरचनाको विकास गर्ने ठोस सहमति भएको बताए ।

अध्यक्ष दाहालले पछिल्लो समयमा दुवै देशमा सकारात्मक वातावरण रहेको विषयमा चिनियाँ नेता र आफूहरुको बीचमा समान समझदारी देखिएको बताउँदै भने, ‘दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ ।’

अध्यक्ष दाहालले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन भई नयाँ नीति निर्माण भएको, सि जिङ फिङ विचारलाई संश्लेषण गरेको र आउने सन् २०५० सम्म चीनलाई विश्वकै बलियो समाजवादी राष्ट्रका रुपमा विकसित गर्ने उद्देश्य खडा भइ सकारात्मक वातावरण बनेको छ भने नेपालमा पनि दुई ठूला पार्टीको बीचमा एकता भएर दुईतिहाई बहुमतको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार र पार्टीले समृद्धि र विकासलाई मुख्य कार्यसूची बनाएको छ ।’

अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीकै शान्ति र निःसस्त्रीकरणसम्बन्धी समितिको अध्यक्षको आयोजनामा भएको बैठकमा जापान र फ्रान्सका पूर्वप्रधानमन्त्री, कोस्टारिकाका पूर्वराष्ट्रपति र मङ्गोलियाका उपप्रधानमन्त्रीलगायत विश्वका नेतासँग सामूहिक छलफल भएको जानकारी दिए ।

अध्यक्ष दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका सचिवालय सदस्य बामदेव गौतम, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङ, अग्नि सापकोटालगायतले स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ