एजेन्सी, भदौ १५ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लूटीओ) बाट बाहिरिने चेतावनी दिनुभएको छ । डब्लूटीओको अमेरिका प्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले यस्तो चेतावनी दिनु भएको हो ।
ट्रम्पले डब्लूटीओले अमेरिकाप्रति पक्षपातपूर्ण व्यवहार गर्दै आइरहेको आरोप केही समयदेखि लगाउँदै आइरहनु भएको छ । डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि स्थापित संगठन हो ।
तर संरक्षणवादी नीतिमा जोड दिँदै आइरहेका ट्रम्पले डब्लूटीओले गलत व्यहवार गरिरहेको आरोप लगाउनु भएको छ । राष्ट्रपति ट्रम्पको डब्लूटीओबाट बाहिरिने चेतावनीले ट्रम्पको व्यापार नीति र डब्लूटीओको खुला व्यापार प्रणालीबीच द्वन्द्व उजागर गरेको छ ।
डब्लूटीओको विवाद निराकरण गर्ने न्यायाधीकरण न्यायाधीशहरुको निर्वाचन आवश्यक देखिएको छ । तर यो हुन सकिरहेको छैन । वासिङ्टनले यसमा अवरोध पुर्याउँदै आइरहेको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरले पनि अमेरिकी सम्प्रभूतामाथि हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ ।
पछिल्लो केही समययता अमेरिका व्यापारिक द्वन्द्वमा फस्दै आइरहेको छ । अमेरिका भित्रिने विदेशी सामानहरुमा अमेरिकाले अतिरिक्त कर लगाएपछि त्यो डब्लूटीओको नीतिविपरीत भएको भन्दै चीनले आलोचना गरिरहेको छ ।