काठमाडौँ, ७ भदौ ।
बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन ।
आज शेयर बजार ओरालो लागेर कारोवार बन्द भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब चार अङ्क अर्थात् ३.९२ बिन्दुले घटेर एक हजार १७८.५० मा झरेको छ ।
यस्तै ‘क’ वर्गका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २४८.९९ बिन्दुमा कायम छ ।
आज कूल १५९ कम्पनीको १० लाख २० हजार ५९५ कित्ता शेयर रु २७ करोड ७३ लाख आठ हजारमा कारोवार भएको छ । स्टकका अनुसार दुई उपसमूहको शेयर बढ्दा अन्य उपसमूहको घटेको छ ।
मेघा बैंक लिमिटेडको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । यस्तै लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको छ ।
यसैगरी नेपाल कम्युनिटी विकास बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।