एजेन्सी, ४ भदौ ।
इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।
आइतबार साँझ गएको भुकम्पमा परी आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ ।
भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् ।
दुई साताको बीचमा लोम्बोकमा गएका दुइओटा यस्तै ठूला भूकम्पका कारण उनीहरुमा त्रास छाएको हो । यी शक्तिशाली भूकम्पबाट करिब ५०० मानिसको मृत्यु भइसकेको छ । अधिकारीहरुले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साताअघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला आइतबार फेरि अर्को भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।