काठमाण्डौ, १ भदौ । आर्थिक वर्ष ०७४/७५ मा वाणिज्य बैंकहरूले ९० अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । २७ वाणिज्य बैंकहरूले प्रकाशित गरेको गत आवको वित्तीय विवरणअनुसार बैंकहरूको आम्दानी अघिल्लो वर्षको तुलनामा करिब २२ प्रतिशतले बढेको छ । अघिल्लो आव ०७३/७४ मा बैंकहरूले ७३ अर्ब ९३ करोड खुद ब्याज आम्दानी गरेका थिए । समीक्षा अवधिमा यी २७ बैंकहरूको ब्याज आम्दानी ४८ दशमलव ५७ प्रतिशत बढेको छ भने ब्याज खर्च ७६ दशमलव ३७ प्रतिशत बढेको छ ।
विकास बैंकको बढी आम्दानी
समीक्षा अवधिमा कृषि विकास बैंकले सबैभन्दा धेरै खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत आवमा ६ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । रकमका आधारमा सबैभन्दा बढी भए पनि बैंकले अघिल्लो आवको तुलनामा भने ३ दशमलव १० प्रतिशत कम आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले ७ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी १३ अर्ब ७६ करोड रहेको छ भने ब्याज खर्च ६ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । बैंकको ब्याज आम्दानी २० दशमलव ४१ प्रतिशत बढेको छ भने ब्याज खर्च ६४ दशमलव ८८ प्रतिशत बढेको छ ।
सिभिल बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा सबैभन्दा कम रहेको छ । बैंकले सो अवधिमा १ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा २२ दशमलव ४१ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३१ दशमलव ३३ प्रतिशत बढेको छ भने ब्याज खर्च ४८ दशमलव ३८ प्रतिशत बढेको छ ।
खुद ब्याज आम्दानी वृद्धिदरका आधारमा भने जनता बैंक सबैभन्दा अगाडि छ । अघिल्लो आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी १०४ दशमलव ९६ प्रतिशत बढेको छ । अघिल्लो आवमा १ अर्ब १४ करोड खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा २ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी १ सय १० दशमलव ५६ प्रतिशत बढेको छ भने ब्याज खर्च १ सय ४७ दशमलव ६८ प्रतिशत बढेको छ ।
दुई बैंकको खुद ब्याज आम्दानी घट्यो
समीक्षा अवधिमा कृषि विकास बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको खुद ब्याज आम्दानी घटेको छ । कृषि विकास बैंकको यस्तो आम्दानी अघिल्लो आवको तुलनामा ३ दशमलव १० प्रतिशत घटेको छ भने एनसिसी बैंकको ५ दशमलव ९१ प्रतिशत घटेको नयाँपत्रिकाले छापेको छ । अघिल्लो आवमा १ अर्ब ७२ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको एनसिसीले गत आवमा १ अर्ब ६२ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ । बैंकको ब्याज आम्दानी २६ दशमलव ५७ प्रतिशत बढेसँगै ब्याज खर्च ९० दशमलव ३० प्रतिशत बढेपछि बैंकको खुद ब्याज आम्दानी घटेको हो ।
बढी ब्याज दिने एनआइसी एसिया
एनआइसी एसिया बैंकले गत आवमा सबैभन्दा धेरै ब्याज दिएको छ । अर्थात्, सो बैंकको ब्याज खर्च सबैभन्दा बढी रहेको छ । समीक्षा अवधिमा बैंकको ब्याज खर्च ९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा १ सय १३ प्रतिशतले बढी हो । बैंकले सो अवधिसम्ममा १३ अर्ब २९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा ९२ दशमलव ६५ प्रतिशत बढी हो ।
