१७ साउन,काठमाडौं । पार्टि एकता भएकाे छाेटाे समयमा नै पूर्व एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेली र पूर्व माअाेवादी केन्द्रका नेता नारायणाकाजी श्रेष्ठबीचकाे बिबाद उत्कर्षमा पुगेकाे छ । साेहि कारण नेता श्रेष्ठले एकतापछि बनेकाे नयाँ पार्टी नेकपाकाे प्रवत्ताकाे जिम्मेवारी नै त्याग गरेका छन्र । पद त्याग्नुअघि ओली र श्रेष्ठबीच भनाभन भएको घटना सार्वजनिक भएको छ । साउन ७ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा ओली र श्रेष्ठबीच भनाभन भएको हो ।
विषय थियो, प्रवक्ता श्रेष्ठले डा. गोविन्द केसी र सुशीला कार्कीलाई भेटेको । बैठकमा ओलीले श्रेष्ठसँग किन भेटेको भन्दै स्पष्टीकरण सोधेका थिए । जवाफमा श्रेष्ठले आफूले समस्या समाधान गर्न भेटेको जवाफ दिए तर ओलीले मानेन् । विवादले चर्को रुप लिएर हात हालाहालको स्तरमा पुगेको बताइएको छ । उनीहरु नेता नभएको भए यो स्तरको भनाभन हात हालाहालमै पुग्ने बैठकमा सहभागी अन्य नेताहरुको भनाई छ ।
अध्यक्ष ओलीले होच्याएर बोलेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीलाई नै साथ दिएपछि श्रेष्ठले राजिनामा दिएका थिए । उनले “तपाईहरुको प्रवक्ता तपाईहरु नै राख्नुस्” तुरुन्तै लिखित राजिनामा दिएका थिए । यद्यपी राजिननामा स्वीकृत भएको छैन ।
ओलीले सचिवालयको बैठकमा तुरुन्त आउन भनेपछि गृहजिल्ला गोरखा पुगेका श्रेष्ठ साँझ ५ बजे सिधै बालुवाटार पुगेका थिए । बैठकको सुरुमै ओली श्रेष्ठमाथि खनिएका थिए । उनले सुशीला कार्की, कृष्ण पहाडी, गोविन्द केसीहरुलाई किन भेटेको ?, सत्याग्रही भनेको के हो ?’ पार्टी नीति विरुद्धमा किन गएको ? सरकारविरुद्ध अनसन बसेको केसीलाई किन सत्याग्रही भनेको ? मिडियामा अन्तरवार्ता किन दिएको ? यस्तै प्रश्नहरु एक पछी अर्को गरी श्रेष्ठमाथि खनिए ।
ओलीका प्रश्नको श्रेष्ठले उत्तरसँगै प्रतिवाद गरिरहेको बेला अर्का अध्यक्ष दाहाल भने दर्शक बनेका थिए । उनले पनि केसीलाई भेट्न नहुने भनेपछि श्रेष्ठको पारा एकाएक बढ्यो । उनले राजिनामा घोषणा गरे ।
बैठकमा विवाद चर्किदै जाँदा ओलीले आक्रामकशैलीमा डा. केसीको अनसनको निन्दासँगै माथेमा आयोगको प्रतिवेदन प्रतिक्रियावादी र जनविरोधी भएको बताए । त्यसको प्रतिवाद गर्दै श्रेष्ठले ओलीको कुरा गलत भएको बताए । उनले माथेमा प्रतिवेदन एकदम सकारात्मक भएको बताउँदै मूल सार नवउदारवादको विरुद्धमा भएको दाबी गरे । त्यसपछि प्रधानमन्त्री ओली झन् आगो भए ।
बैठकमा प्रवक्ता श्रेष्ठको पक्षमा कुनै पनि सदस्यहरुले बोलेनन् । राजिनामा दिएपछि आफू निकट केही नेताहरुसँग श्रेष्ठले छलफल गरेका थिए । छलफलमा श्रेष्ठले ओली आफूमाथि खनिरहँदा प्रचण्डले साथ दिनुको साटो उल्टै विरुद्धमा उत्रेको बताए । “ओलीको अगाडि प्रचण्ड भिजेको बिरालोजस्तै भए । यो आपत्तिको विषय हो” श्रेष्ठले उक्त छलफलमा भनेका थिए ।
ओलीसँग यो स्तरको प्रतिवाद कसैले पनि गरेका थिएनन् ।-अनलाइनडवली