एजेन्सी, साउन १० ।
पाकिस्तानमा हिजो सम्पन्न संसदीय निर्वाचनको मतगणनामा जारी छ । हिजो साँझ तिर मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु भए पनि आधारात सम्म कुनै पनि स्थानको आधिकारिक नतिजा घोषणा भएको छैन।
जसले गर्दा निर्वाचन आयोगले आलोचनाको सामना गर्नुपरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । षड्यन्त्र र धाँधलीको आरोपका बीच आयोगले आज बिहानसम्म एक स्थानको नतिजामात्र सार्वजनिक गरेको छ ।
घोषित नतिजा अनुसार रावल पिंडीबाट पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका उम्मेदवार मोहम्मद अदनान विजयी भएका छन् । प्रमुख निर्वाचन आयुक्त सरदार रजा खानले भने आलोचनाको खण्डन गर्दै प्रविधि, सुरक्षा र मौसमका कारण नतिजा सार्वजनिकमा ढिलाई भएको बताउनु भएको छ ।
जारी मतगणनामा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले अग्रता बनाएको छ । दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ । शरीफले जारी मतगणनामा देखिएको परिणामलाई अस्वीकार गर्नु भएको छ ।
पाकिस्तान मुस्लिम लिगले चुनावी मत परिणाममा षड्यन्त्र भएको आरोप लगाएको छ । उसले अन्य पार्टीहरुसँग मिलेर यो मुद्दालाई अघि बढाउने चेतावनी दिएको छ । तर, निर्वाचन अधिकारीहरुले भने मत परिणाममा षड्यन्त्र गरिएको आरोपको खण्डन गरेका छन् ।