काठमाडौं ९ साउन ।
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा बृद्धि भएर २४ खर्ब नाघेको छ । यस्तै लगानी २१ अर्व देखिएको छ ।
आर्थिक वर्ष ०७४–७५ को अन्त्यसम्ममा बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर एशोसिएसनले जनाएको छ ।
एसोसियसनका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुले आर्थिक वर्ष ०७४–७५ मा तीन खर्ब ८३ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् ।
पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप संकलन निरन्तर बढाउँदै गएका छन् । गत आर्थिक वर्षको अन्तिम महिनामा वर्ष भरिकै सबैभन्दा बढी निक्षेप संकलन भएको छ ।
निक्षेपमा कुल १८.३५ प्रतिशतको बृद्धि देखिएको छ । आर्थिक वर्ष ०७३–७४ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले २० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
आर्थिक वर्षको समाप्तिको अन्तिम साता १.९७ प्रतिशतले वृद्धि भइ वर्ष भरीमा वाणिज्य बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप र्पुयाएका छन् ।
वाणिज्य बैंकहरुले निक्षेप संकलनमात्रै नभएर कर्जा लगानीसमेत बढाएका छन् । वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०७४–७५ को अन्त्य सम्ममा २१ खर्ब ११ अर्ब रुपैयाँ लगानी गरेको एशोसिएसनले जनाएको छ ।
एशोसिएसनका अनुसार आर्थिक वर्ष २०७३–७४ को तुलनामा बैंकहरुले आर्थिक वर्ष २०७४–७५ मा ३ खर्ब ७६ अर्ब रुपैयाँ बढी लगानी गरेका हुन् ।
लगानीमा कुल २१.६७ प्रतिशतको बृद्धि देखिएको छ । आर्थिक वर्ष ०७३–७४ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले १७ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
यस्तै, आर्थिक वर्षको अन्तिममा आएर वजेट खर्च गर्ने परम्परा धेरै पुरानो हो । विभिन्न क्षेत्रमा विनियोजित बजेट सकाउनका लागि आर्थिक वर्षको अन्त्यतिर हतार(हतारमा बजेट खर्च गर्ने प्रचलन छ ।