साउन ७, काठमाडौं ।
साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।
पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै नै भक्तजनको आगमन सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
साउन महिनाको सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
विगतका बर्ष जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ । पिंगलास्थान, गौशालाचोक र उमाकुण्डबाट भक्तजनहरुलाई लाम लाग्ने व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्ला गरिएको र दर्शनार्थीले छिटो पूजा एवं दर्शन गरेर फर्कन सक्ने गरी सबै व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।
भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा छ ।