काठमाडौँ, ७ साउन ।
करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ ।
यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाएसँगै फोहर उठ्न थालेको काठमाण्डौ महानगरपालीकाले जनाएको छ ।
भरिएर फोहर राख्ने स्थानको अभाव तथा बाटो बिग्रिएकाले झण्डै एक महिनादेखि उपत्यकामा फोहर उठ्न नसक्दा नागरिकको जनजीवन प्रभावित भएको थियो ।
काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न समस्या भए पनि नियमित रुपमा फोहर उठिरहेको जानकारी दिनुभयो ।
भित्री केही गल्लीमा बाँकी भए पनि, बाहिरी मुख्य शहर सबै स्थानको फोहरको व्यवस्थापन भइसकेको छ । आगामी दिनमा नियमित फोहर व्यवस्थापन हुनेछ ।
नियमित रूपमा फोहर संकलन कार्य शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनको लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले घरमा नै फोहरको गाडी आउने जनाएको छ ।
हरेक दिन कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
महानगरपालिकाले फोहर व्यवस्थापन स्थानको व्यवस्थापन, केन्द्र सरकारले गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र्र्र सरकारले स्थानीयको समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा राख्दै आएको छ ।
काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोललाई लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले उक्त स्थानमा तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न काठमाण्डौ महानगरपालिकालाई आग्रह गरेका छन् ।