संसदलाई जनताभन्दा माथिको सर्वोच्च थलो मान्ने दुईतिहाईको सरकार चिकित्सा विधेयक अघि बढाउँन किन आनाकानी गरेर बसेको छ । अरे वावा दुईतीहाई छ ! कसको के डर छ ? डक्टर केसी ओछ्यानमा छन् र अरु विचराहरू सडकमा छन् ।
तिम्रो दुईतीहाई मात्र होइन , तिमीसँग सेना छ, प्रहरी छ , कर्मचारी छन् । वुध्दिजीवी, कमिशनजीवि, माफियाजीवि र तिघ्राजीवीहरू छन् । धन डन र गनले भरिपूर्ण तिमी केको डरले अल्मलिएको ? आफू अल्मलिने अरुलाई दोष दिने , आफू नसक्ने अरुलाई गाली गर्ने यो के ताल हो सरकार ? दुईतीहाईको तिम्रो घोडा हिनहिनाउँदै दौडाए हुन्छ नि सरकार जनताको छात्तीमा । तिम्रो नजरमा गोविन्द केसी काङ्ग्रेसका प्यादा हुन ।
काङ्ग्रेस आफैं सुर हराएको बुढोजस्तो भएको छ । गोविन्द केसीको अनसन नभएको भए काङ्ग्रेस सिरक ओढेर सुतेको थियो ।विचरो काङ्ग्रेसको पनि प्यादासँग किन डराउँछौं । तिमीसँग शक्तिसाली सिङ्गै भारत छ , महाशक्तिसाली चीन छ , अमेरिका छ । देशभित्र मात्र होइन देश वाहिर पनि दुईतीहाई छ । विचरा गोविन्द केसीसँग के छ र ? केही सुधारका माग छन् , ती पनि तिम्रै व्यवस्था भित्रका । तिम्रो व्यवस्थालाई ठाडो चुनौती नदिउन्जेल सेना नै उतार्नु पर्छ त गोविन्द केसीलाई गिरफ्तार गर्न सरकार ? उनी तोराबोरामा लुकेका विन लादेनजस्तो गरेर अप्रेशन नै चलाउँनु पर्छ त ? अनि नि सरकार ! छयालिस सालमा आन्दोलन चल्दा पञ्चायतसँग सतप्रतिशत थियो । शतप्रतिसत भनेको दुईतीहाई भन्दा धेरै हो ।कता हो कता धेरै हो । जनता उल्टिए भने शतप्रतिसतले पनि थेग्दो रहेनछ ।
अहिले तिमीसँग दुईतीहाई छ भन्ने लोकलाई थाहा छ । तर समयको मागलाई कुल्चेर दुईतीहाईको गीत गाएर मात्रै बस्यौ भने दुईतीहाई लौरो बोकेर आफै सडकमा आउँदैन । अनि दुईतीहाईलाई जे पनि गर्ने छुट छ भनेर पनि कतै लेखेको रहेनछ । अन्तमा तिमीसँग जनता ढाँट्न एक थान झण्डा र एक धर्को खोसेको नाम छ ।त्यो एक थान झण्डा र एक धर्को अर्काको खोसेको नामले कतिन्जेल रजगज गर्न सकिएला भनेर कैले सोचेका छौ सरकार ?
व्यङ्ग लेखक- बलराम तिम्सिना