३ साउन, काठमाडौं ।
२० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई आज साँझ काठमाडौं ल्याइएर त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६बजेर ४५ मिनेटमा टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगि केसीलाई आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
शिक्षण अस्पतालमा भेला भएका समर्थक तथा शुभचिन्तकले हात उठाएर अभिवादन गरेका थिए । केसीलाई लिन बिहीबार विहान नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो ।
केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र केसीका समर्थक र प्रहरीबीच झडप भएको थियो । झडपमा एक जना प्रहरी गम्भीर घाइते भएका छन् भने १० भन्दा बढी घाइते भएका थिए ।