काठमाडौं, १ साउन ।
पछिल्लो समय तिव्र गतिका कारण सवारी दुर्घटनामा बृद्धि हुन थालेपछि आजदेखि भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म गाडीमा टाइमकार्ड लागू भएको छ ।
भक्तपुरको ६ लेनको सडकमा दुर्घटना कम गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले टाइमकार्ड लागू गरेको जनाएको छ ।
टाइम कार्ड लागू गरेपछि अब ट्रक, टिपर, भ्यानलगायत गाडीले प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्रै गुड्नुपर्नेछ । यस्तै, महाशाखाले आजदेखि जगाती–कोटेश्वर सडकको बाँयातर्फ मालबाहक र सार्वजनिक गाडी दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कुटनीतिक नियोगका बस सञ्चालन गर्ने तयारी गरेको छ ।
सार्वजनिक गाडी यात्रु चढाउन र झार्न बेला बेला रोक्नु पर्ने भएकाले र सँगै ट्रक, ट्रिपर पनि रोक्नु पर्ने भएकाले बायाँ लेनमा चलाईले महाशाखाले जनाएको छ । यस्तै मोटरसाइकल तथा जीप लगायतका साना गाडी रोकिरहनु नपर्ने भएकाले दायाँ लेनमा चलाइने गरी नियम बनाउन लागिएको हो ।
यसैबीच, आजदेखि पीक आवरमा ट्रिपर चलाउन रोक लगाइएको छ । भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म विहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म र अपरान् ३ बजेदेखि बेलुकी ८ बजेसम्म ट्रिपर चलाउन रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।