एजेन्सी, ३१ असार ।
भारतको उत्तर प्रदेश सम्भल जिल्लामा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ ।दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् ।
बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको पनि बताइएकाे छ ।
घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । श्रीमान गाँजियावादमा काम गर्थे भने महिला आफ्ना दुई सन्तानका साथमा घरमा थिइन् ।
घटना भएको बेला भारी वर्षा भएको र महिलाले गुहार मागेपनि कसैले नसुनेको उजुरीमा उल्लेख छ । बलात्कारपछि त्यो समूह बाहिर गएपछि श्रीमतीले प्रहरीलाई १०० नम्बरमा फोन गरेकि थिइन तर कुनै जवाफ नआएको उनले बताए।
त्यसको केहीबेरमा फेरि त्यही समूह आएर महिलालाई घर बाहिर निकालेर यज्ञशालामा लगेर जलाएको उजुरीमा उल्लेख छ । प्रहरीले भने अनुसन्धान भइरहेको बताएको छ ।