पाँचथर, असार २६ ।
पाँचथरमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा च्याङथापु–१ का कैलाश अधिकारी रहेका छन् ।
पाँचथरको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको हो । जीपमा चालकसहित १० जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमै १ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएको छ । घाइतेको अवस्थाबारे प्रहरीले केही बताएको छैन ।
अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ ।
यस्तै तुलसीपुरमा आज ना ५ख ५७६८ नंको बसले किच्दा एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।
उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अहिले तुलसीपुर बसपार्क तनावपूर्ण अवस्थामा छ ।