२४ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा.डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन् ।
राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै प्रा.डा केसी र गंगामाया अधिकारीका माग सम्बोधन हुने बताएका हुन् ।
गृहमन्त्रीले बाढी र पहिरो जस्ता प्राकृतिक विपतबाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए । उनले दुर्गम क्षेत्रमा प्रहरी चौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने बताए । द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जानकारी पनि दिए ।
गृहमन्त्री बादलले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपदमा आधारभूत सेवा पुर्याउनका लागि ५४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताए ।
गृहमन्त्रीले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइराला जानकारीबिना क्यानडा जान लागेकाले फर्काउनु परेको स्पष्ट पारे ।