२३ असार, काठमाडौं । नेपालमा आयात भइरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन भारतले प्रस्ताव गरेको छ ।तर, नेपाली टोलीले भारतीय प्रस्तावलाई अस्वीकार गरेको जनाइएकाे छ ।
नेपालले भारतबाट पिक समयमा झण्डै ४५० सय मेगावाट बिजुली आयात गरिरहेको अवस्थामा भारतले नेपाल-भारत विद्युत आदान प्रदान समिति (पीइसी)को बैठकमा नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको हो ।
झण्डै ४५० सय मेगावाटमध्ये करिब ३ सय मेगावाट बिजुली यही कमिटीले तोक्ने दररेटमा खरिद गर्ने गरिन्छ । जसमा १३२ केभी प्रशारणलाइन (ढल्केबरबाट अाउने बाहेक)बाट आउने बिजुलीको मूल्य ५.५० र ३२ केभीमा भारतयि ६ रुपैयाँ प्रतियुनिट पर्छ ।
हाल १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ८.८८ नेपाली रुपैयाँ , ९.६ रूपैयाँ र १०.३२ रूपैयाँ छ ।
नयाँ दिल्लीमा हालै सम्पन्न बैठकमा भारतले १५ देखि २० प्रतिशतसम्म मूल्य बढाउने प्रस्ताव गरेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नयाँ दरमा बिजुली किन्न नसकिने जवाफ दिएका छन् ।
समितिको अर्को बैठक फेरि ३ महिनाभित्रै बस्ने निर्णय भएको छ ।सन् २०११ बाट बस्न नसकेको समितिको बैठक गतवर्ष मात्रै बसेको थियो, जसले वर्षपिच्छे स्वतः मूल्य बढ्दै जाने गरी पूर्वसहमति सच्याएको थियो । गतवर्ष पनि घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले भारतलाई वर्षपिच्छे बिजुली खरिद दरमा पुनरावलोकन गर्न सहमत गराएको थियो ।
यो वर्ष भारत आफैंले मूल्य बढाउन प्रस्ताव गरेपछि नेपाली प्रतिनिधि मण्डल त्यसलाई अस्वीकार गरेर फर्किएको छ ।