काठमाडौं, असार २१ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति असार अन्तिम साता मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसअघि भोली नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति यो साता नगरि अन्तिम सातामात्रै सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको हो ।
आवश्यक तयारी नपुगेको भन्दै राष्ट्र बैंकले यो साता मौद्रिक नीति सार्वजनिक गर्न सम्भव नरहेको बंैकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिनुभयो ।
आज मिडिया इन्टरनेशनलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक थापाले यो साता मौद्रिक नीति नआउने स्पष्ट पार्नु भएको हो ।
आगामी आर्थिक वर्षका लागि बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेट्न समस्या नरहेको कार्यकारी निर्देशक थापाको भनाई थियो ।
राजनीतिक अस्थिरताको अन्त्य भई मुलुकमा स्थायी सरकार बनेको र आर्थिक वृद्धिका लागि प्रशस्तै सम्भावना रहेका कारण आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत मात्रै नभएर ११ देखि १३ प्रतिशतसम्म पुग्ने उहाँले दाबी गर्नुभयो ।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन तर्फ मात्रै ध्यान दिने हो भने आर्थिक वृद्धि ११ देखि १३ प्रतिशत पुग्नेमा शंका नरहेको उहाँको जिकीर थियो ।