काठमाडौं, असार २० ।
सरकारले बंगलादेशसँग पनि उर्जा सहकार्य सम्झौता गर्ने तयारी गरेको छ । केही साता अघि मात्रै चीनसँग उर्जा सहयोग सम्झौता गरेको सरकारले बंगलादेशसँग पनि सम्झौता प्रक्रिया अघि बढाएको हो ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बंगलादेशलाई सम्झौता गर्ने मिति तय गर्न पत्र पठाएको छ । करिब ६ महिना अघि पत्र पठाए पनि बंगलादेश सरकारले कुनै प्रतिक्रिया नदिएपछि पुनः पत्र पठाएको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार करिब २ वर्ष अघि नै बंगलादेशसँग उर्जा सहकार्य सम्झौताको प्रक्रिया अघि बढाइएको हो । मन्त्रिपरिषद्ले बंगलादेशसँग गर्ने सम्झौतालाई पास गरिसकेको छ भने दुई देशबीच सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको छ ।
अहिलेसम्म नेपालले भारत र चीनसँग मात्र उर्जा सहकार्य सम्वन्धी सम्झौता गरेको छ । यो सम्झौता भएसँगै दुई देशबीच उर्जासँग सम्बद्ध संयन्त्र बन्छ भने विद्युत खरिद सम्झौताको लागि बाटो खुल्नेछ ।
साथै बंगलादेशी लगानीकर्ताको लागि पनि सहज हुनेछ । बंगलादेशमा उर्जाको ठूलो माग रहेको छ । नेपालमा उत्पादन भएको बिजुली र्पुयाउन सके दुवै देशलाई नै फाइदा पुग्न सक्ने अनुमान छ ।