दार्चुला, १९ असार ।
तीन दिनदेखि परिरहेको अविरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।
२०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाल महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीका स्थानीय त्रसित बनेका छन् ।
महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ की निर्मला चन्दले बताउनुभयो ।
नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ ।
पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसमद जोशीले जानकारी दिनुभयो ।
लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ ।
भारतको खोतिला क्षेत्रमा गत वर्ष गएको सुख्खा पहिरो अहिले नेपालको बंगाबगड क्षेत्रमा असर गर्ने सम्भावना रहेको छ । खोतिला क्षेत्रमा खसेको पहिरो महाकाली नदीमा आएका कारण नेपालको बंगाबगड क्षेत्रमा जोखिम रहेको छ ।
यसैबीच, लगातारको वर्षाले ठाउँठाउँमा सडक भत्किँदा दार्चुला— तिंरक सडकखण्ड अवरुद्ध भएको छ । दार्चुला—तिंकर सडकखण्डअन्तर्गत श्रीबगड, राताकाठा सडक खण्डको दुई÷तीन स्थानमा माथिबाट पहिरो खस्दा मान्छे हिँड्न नमिल्ने गरी सडक भत्किएको छ ।
अवरुद्ध सडक स्थानीयले ट्र्याक्टर प्रयोग गरी खुलाएको भए पनि पुनः पहिरो खस्दा अवरुद्ध बनेको हो । भारी वर्षाका कारण ग्रामीण भेगका बाटो घाटोसमेत भत्किएका छन् ।