काठमाडौं, असार १८ ।
नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी रुसमा सञ्चालनमा आएको छ ।
उक्त सडकखण्ड अन्तर्गत चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सडक एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान सवा ५ बजे तिर ती स्थानमा पहिरो खसेसँगै सवारी एकतर्फी रुपमा मात्र चलेका हुन् ।
पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो ।
यसैबीच सिद्धार्थ राजमार्गको बुटवल नजिकै सिद्धबाबामा पहिरो गएपछि गएरातिबाट अवरुद्ध बुटवल तानसेन सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
राति ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका वडा नम्वर ३ सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछी अवरुद्ध भएको सडक एकतर्फी रुपमा सुचारु भएका पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सडकमा लेदो माटो र ढुंगाा सहितको पहिरो गएको थियो ।
पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट बुटवल आउँदै र जाँदै गरेका यात्रु अलपत्र परेका छन ।
पहिरो पुरै हटाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणी आचार्यले बताउनु भयो ।