मेचीनगर, असार १७ ।
आफ्नै बिद्यालयकी छात्रामाथि दुर्ब्यवहार गरेपछि झापा मेचीनगर–५ स्थित वालकल्याण माबिका शिक्षक देबु बानियाँ लाई बिद्यालयले तत्काल निलम्बन गरेको छ ।
वालकल्याण माविका शिक्षक बानियाँले कक्षा ८ मा अध्ययनरत एक छात्रालाई दुर्ब्यवहार गरेको भन्दै अभिभावकका तर्फबाट शिक्षक वानियाँ बिरुद्ध बिद्यायलयमा उजुरी परे पछि शिक्षक बानियाँलाई तत्काल हाजिर नगराउने निर्णय गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलिपजंग सुब्बाले बताए ।
आफ्नी छोरीलाई दुर्ब्यवहार गरेको भन्दै छात्राका वुवाले शिक्षक बानियाँ बिरुद्ध असार १४ गते उजुरी गरे पछि असार १५ गते बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले घट्नाको छानबिन गरी टुङ्गो नलागेसम्मका लागि शिक्षक वानियाँलाई बिद्यालयमा हाजिर नगराउने निर्णय गरेको समितिका अध्यक्ष लिम्बुले बताए ।
घटनाको यथार्थ छानबिनका लागि नगर शिक्षा समितिलाई अनुरोध समेत गरेको अध्यक्ष सुब्बाले जानकारी दिए ।
अभिभावक, शिक्षक र बिद्यार्थीहरु सहितको बैठकमा छात्राले आफुलाई शिक्षक बानियाँले दुर्ब्यवहार गरेको बताएकी बिद्यालय ब्यवस्थापन समितिका सदस्य रमा भण्डारीले जानकारी दिइन् ।
बिद्यार्थीले नै शिक्षक माथि आरोप लगाइसके पछि सत्य तथ्य छानबिन हुन जरुरी भएकाले पनि माथिल्लो निकायलाई छानबिनका लागि अनुरोध गर्दै शिक्षक बानियाँलाई हाजिरी नगराउने निर्णय गरेको ब्यवस्थापन समिति सदस्य भण्डारीले बताइन् ।
अभिभावकले शिक्षक बानियाँलाई कारबाही गर्नु पर्ने र सधैंका लागि बिद्यालयबाट निस्काशन गर्नु पर्ने माग राखेका छन् ।
अभिभावकले शिक्षक बानियाँ बिरुद्ध वडा कार्यालयमा समेत उजुरी दर्ता गराएका छन् ।
असार १५ गते वडा कार्यालयमा अभिभावकका तर्फबाट निवेदन दर्ता भएको र त्यस निवेदन उपर अभिभावक तथा शिक्षक सहितको छलफल गराएर निकास निकाल्न प्रयास गरिने मेचीनगर–५ का वडा अध्यक्ष योगेन थापामगरले बताए ।
अध्यक्ष मगरले भने–‘वाल कल्याणको छात्रामाथि शिक्षक बानियाले दुर्ब्यवहार गरेको भनेर अभिभावकले वडामा निवेदन दिएका छन्, हामी सरोकारवालालाई राखेर छलफलबाट निकास निकाल्ने तयारीमा छौं ।’
राहत दरबन्दीमा कार्यरत शिक्षक बानियाँले यस अघि पनि अर्की एक छात्रामाथि दुब्र्यवहार गरेको घटनामा पनि सार्वजनिक नगरी माफी मगाएर मिलाइएकोे अभिभावकहरु बताउँछन् ।
बानियाँले आफुबाट केही कमजोरी भए पनि आरोप लगाइए जस्तो दुर्ब्यवहार भने नगरेको बताए ।
टेलिफोन सम्पर्कमा शिक्षक बानियाँले आफुले कक्षामा छात्रालाई गाली गरेको र त्यही कुरालाई लिएर आफु बिरुद्ध उजुरी परेको दाबी गरे ।
पत्रकार समेत रहेका शिक्षक बानियाँ नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य समेत हुन् ।
यसैबिच, मेचीनगर–६ काँकरभिट्टा स्थित सुर्योदय अंग्रेजी माबिका शिक्षकले छात्रामाथि दुर्ब्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
बिद्यालयका शिक्षक सन्तोश शिवाकोटीले कक्षा ८ मा पढ्ने छात्रालाई ट्युशन पढाउने क्रममा दुर्ब्यवहार गरेको आरोप सहितको उजुरी अभिभावकका तर्फबाट ईलाका प्रहरी कार्यालयमा दिए पछि शिक्षक शिवाकोटीलाई आज पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले बताए ।
अभिभावकको उजुरी अनुसार शिक्षकलाई कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको डिएसपी भट्टराईले जानकारी दिए ।
मुलुकी ऐनकोे आशय करणीको महल १३ मा उल्लेख भए अनुसार कसैले कुनै महिलाको मञ्जुरी बिना निजको सम्बेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धी अङ्ग निजलाई छुन, समाउन लगाएमा वा निजलाई अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले अस्वाभाविक ब्यवहार गरेमा वा निजलाई करणीका आशयले समातेमा यौन दुर्ब्यवहार गरेको मानिनेछ र त्यस्तो कसूर गर्ने ब्यक्तिलाई एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
यस्तो कार्यबाट पीडित ब्यक्तिलाई कसूरदारबाट मनासिब माफिकको क्षर्तिपूर्ति समेत भराई दिनु पर्नेछ । -ज्ञानेन्द्र निरौला/ झापा टाइम्स बाटसाभार