काठमाडौं, असार १७ ।
नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ ।
राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा दिने दीर्घकालीन योजना बनाएको हो ।
अन्तर्रा्ष्ट्रिय उडानमा मात्रै ध्यान दिँदा निगमको आन्तरिक बजार खस्कनुका साथै निजी क्षेत्रमा विमान कम्पनीले हिस्सा बढाएको पाइएपछि निगम आक्रामक रुपमा बजार विस्तारका लागि कार्ययोजना सहित प्रस्तुत हुन लागेको हो ।
अहिले निगमसँग आन्तरिक उडानका लागि चीनबाट आयात गरिएको छ वटा विमान र पूराना दुईवटा विमान गरी कूल आठवटा विमान रहेका छन् ।
निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले अन्तर्रा्ष्ट्रिय सेवासँगसँगै आन्तरिक सेवा पनि उत्तिकै महत्वपूर्ण रहेकाले त्यसमा विशेष ध्यान दिइएको जानकारी दिनु भएको छ ।
विमानस्थल भएका जिल्लामा साताको एउटा मात्रै उडान एवं १९ सीट क्षमताको विमानमा दुई जना यात्रु भए पनि नियमित उडान राखेर सेवा दिने निगमको तयारी छ ।
निगमलाई वास्तविक रुपमा व्यावसायिक र प्रतिस्पर्धी बनाउन लागि परेको जानकारी दिँदै महाप्रबन्धक कसांकारले निगमको सबै सेवालाई चुस्त, दुरुस्त बनाएरै छाडिने दृढता व्यक्त गर्नुभयो ।
अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको भए पनि प्रभावकारी रुपमा सञ्चालनमा भने आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेका हुन् ।
यस्तै निगमले आन्तरिक बजार विस्तारका लागि थप छ वटा विमान खरिद गर्ने भएको छ । कूल १९ सीट क्षमताका क्यानेडियन कम्पनीका ट्वीनअटर जहाज खरिद गर्न लागिएको महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो ।