१४ असार,काठमाडौं ।
अर्घाखाँचीको सितगंगा नगरपालिका–९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई कुटपिट गर्ने दुई जना महिलालाई ६ महिना जेल सजाय तोकेको
जग्गा विवादमा सार्वजनिक स्थलमा उनलाई शरीरको कपडा धुजाधुजा पारेर आक्रमण गरेर सख्त घाइते गर्ने दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी अपराधी दिदीबहिनीलाई स्थानीय प्रशासनले ६ महिना जेल सजाय तोकेको छ ।
जेठानी देउरानी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले जग्गा बेच्न नमानेको भन्दै गत जेठ २५ गते घेरा हालेर ‘निवस्त्र’ पारेर सार्वजनिक रूपमै निर्घात कुटपिट गरेका थिए ।
दोषी दिदीबहिनीले भूँईमा लडाइएकी पुनको कपडा च्यात्ने काम पटकपटक गरेका थिए । तैपनि पुन आफ्नो अडानमा कायमै थिइन् । सस्तो मूल्यमा जग्गा बेच्न नसक्ने बताइरहेकी थिइन् ।
तर आक्रमणकारी भने आफुले भनेको मूल्यमा जग्गा बेच्न भन्दै कुटपिट गरिरहेका थिए । भालुवाङ बजार पूरै जग्गाधनी पूर्जा विहीन सार्वजनिक जग्गा हो । पैसावाला सरकारी कर्मचारीलाई पैसा खुवाएर यहाँका जग्गा आफ्नो नाममा लालपूर्जा बनाउन लागिरहेका छन् ।
उक्त दिन पुन भालुवाङस्थित आफ्नो जग्गा (घडेरी) हेर्न आएको समयमा गुप्ता दिदीबहिनीले घडेरी बेच्न बल प्रयोग गरी भुईमा लडाई कुर्ता च्यातेर निवस्त्र पारेर अमानवीय तरिकाले सार्वजनिक रूपमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । प्रत्यक्षदर्शीले कुटपिट नगर्न र कानून लाग्ने भनेर सम्झाउँदा पनि लडेकी पुनमाथि निरन्तार लात र मुक्काले प्रहार गरिरहेकी भिडीयोमा प्रस्ट देख्न सकिन्छ ।

लगत्तै भालुवाङ ईलाका प्रहरीले आक्रमणकारी गुप्ता दिदीबहिनीलाई पक्राउ गरी सामान्य मिलापत्रमा घटना सामसुम पार्न खोजिए पनि भिडियो सार्वजनिक भएपछि दिदीबहिनीलाई नै जेठ २७ गते पुनः पक्राउ गरी कारवाहीको लागि कानूनी प्रक्रिया शुरु गरिएको थियो ।
आक्रमणमा संलग्न गुप्ताद्वयलाई १८ दिन थुनामा राखेर अनुसन्धान र सोधपुछ गर्दा उनीहरूले अपराध गरेको र दोषी देखिएको भन्दै गरेको कसुरबमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) गजेन्द्रबहादुर श्रेष्ठले ६ महिना कैद गर्ने निर्णय गर्न आदेश दिएका हुन् ।
दाङ सीडीओ श्रेष्ठले ‘निवस्त्र’ पारेर एउटी महिलालाई सार्वजनिक रूपमा कुटपिट गर्ने गुप्ताद्वयलाई ६ महिना कैद, जनही २५ र २५ हजार जरिवाना र ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने निर्णय गरेको बुधबार ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । बुधबारदेखि नै दिदीबहिनीलाई दाङको तुलसीपुरस्थित कारागारमा थुनामा राखिएको छ ।

