राजनीतिक संघर्षको युग सकेर हामी विकास र समृद्धिको यात्रामा छौँ:  प्रम ओली

राजनीतिक संघर्षको युग सकेर हामी विकास र समृद्धिको यात्रामा छौँ:  प्रम ओली

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौँ, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी बैठक भवनको उद््घाटनका क्रममा आज उहाँले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीको सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा यहाँस्थित सुंयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभयो ।

विसं २०७२ को गोरखा भूकम्पले लाखौँ मानिस घरबारविहीन भएको र सयौँ सांस्कृतिक धरोहर सम्पदा क्षतविक्षत भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “भूकम्पले मानवीय र भौतिक क्षति पु¥याएको अवस्थामा अमेरिकालगायत मित्र राष्ट्रहरूले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ ।” भूकम्प फेरि पनि आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने उहाँको भनाइ थियो ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो ।

कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीले पुरातात्विक सम्पदाको पुनःनिर्माण, सवलिकरण र जिर्णोद्वारका लागि सहयोग गर्ने सम्बन्धित निकायलाई धन्यवाद दिँदै यस्ता कार्यले सांस्कृतीक सम्पदाको संरक्षणका साथै पर्यटन क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

अमेरिकी दूतावासका कार्यवाहक राजदूत पिटर मालनाकले नेपाली तथा अमेरिकी सांस्कृतिक सम्पदाविद्हरूबीचको सहकार्यमार्फत गद्दी बैठकको जीर्णोद्धार तथा भूकम्पीय प्रवलीकरण गर्ने मौका जुरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गद्दी बैठक नेपाली सांस्कृतिक सम्पदा तथा इतिहासको अति महत्वपूर्ण संरचनामध्ये एक हो, हाम्रा सरकार र समुदायबीचको सहकार्यका कारण यो परिणाम सम्भव भएको हो ।”

यस सम्पदास्थलको जीर्णोद्धारमा भूकम्प प्रतिरोधी विधिमा दक्षता भएका इञ्जिनियरले सांस्कृतिक सम्पदा संरक्षण तथा जीर्णोद्धारसम्बन्धी अनुभवप्राप्त आर्किटेक्टसँग सहकार्य गरेका थिए । गद्दी बैठकलाई अझै भूकम्प प्रतिरोधी बनाउन र भावी पुस्ताका लागि संरक्षण गर्न जीर्णोद्धारका क्रममा स्थानीय शिल्पकार तथा परम्परागत निर्माण सामग्री र विधि प्रयोग गरिएको थियो ।

प्रधानमन्त्री ओली र कार्यवाहक राजदूत मालनाकले हनुमानढोका दरबार क्षेत्रमै अवस्थित १७औँ र १८औँ शताब्दीमा निर्माण भई हालै जीर्णोद्धार तथा पुनःनिर्माण गरिएका महादेव, कागेश्वर, लक्ष्मीनारायण र सरस्वती मन्दिरको समेत समुद्घाटन गर्नुभएको थियो ।

एएफसिपीको दुई लाख अमेरिकी डलर सहयोगमा भूकम्पपछिको आकस्मिक अनुदानमार्फत काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपिटी)ले नेवारी शैलीका यी स्मारकको जीर्णोद्धार र प्रवलीकरण सम्पन्न गरेको हो ।

एएफसिपी कार्यक्रमले विश्वका विभिन्न देशमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । एएफसिपी अमेरिकी सरकारको विदेशमा सञ्चालित सबैभन्दा महत्वपूर्ण सांस्कृतिक संरक्षण कार्यक्रम हो ।

सन् २००१ देखि एएफसिपीले १२५ भन्दा धेरै मुलुकमा ८५० भन्दाबढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनालाई सहयोग गरिसकेको अमेरिकी दूतावासले जनाएको छ । विगत दुई दशकमा एएफसिपीअन्तर्गत नेपालमा ३४ लाख अमेरिकी डलरभन्दा बढी लागतका २२ परियोजना सम्पन्न भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ