चितवन, असार १३ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चार किलो भन्ने स्थानमा परिहो खसेपछि अवरुद्ध भएको सवारी आवागमन ६ घण्टापछि सञ्चालनमा आएको छ ।
बिहान साढे ६ बजे पहिरो खसेपछि अवरुद्ध बनेको सडक पौने १२ बजे बाट सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएको छ ।
पहिरो दुई लोडर र एक एक्साभेटरको सहायताबाट पन्छाइएको हो । पहिरोले बाटो अवरुद्ध भए पछि सयौं सवारी साधन बीचबाटो मै रोकिएका थिए ।
हिजो पनि बिहानैदेखि पहिरो खस्दा अवरुद्ध बनेको सडक करिब ११ घण्टापछि मात्रै सुचारु भएको थियो । सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो पनि एउटा हो ।
सडक विस्तारका क्रममा रहेकाले उक्त सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।
यसैबीच उक्त सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि ट्राफिक प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएका छन् ।
सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको हो ।