चितवन, असार १३ ।
हिजो झरेको पहिरोका कारण ११ घण्टासम्म अवरुद्ध नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएर सवारी आवगमन प्रभावित भएको छ ।
आज बिहान साढे ६ बजे चार किलोमा खसेको ठुलो पहिरो गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
पहिरो हटाउन कम्तिमा १० बजेसम्म समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । ट्रफिक प्रहरीले वैकल्पिक मार्ग अपनाउन यात्रुहरुलाई अपिल गरेको छ ।
हिजो मुग्लिनबाट नजिकै रहेको टोपे खोला आडको नाम्चीमा बिहान पाँच बजे गएको पहिरो अपरान्ह चार बजे मात्रै पन्छाएर सवारी सुचारु भएको थियो ।
पहिरोका कारण गत सोमबारदेखि नै नारायणगढ मुग्लिन सडकमा सहज रुपमा सवारी चल्न सकेका छैनन् । राजधानी काठमाडौंको लाइफ लाइन मानिने उक्त सडकमा दैनिक हजारौं सवारी आवागम हुने भए पनि पहिरोका कारण प्रभावित बन्दै आएको छ ।
यसैबीच पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो खस्दा एउटा कार पुरेको छ भने एउटा जीप फसेको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने केष्णभिरमा गएराति लेदो माटोसहितको पहिरो खसेको हो ।
पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३ जीप फसेको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
