चितवन, असार ११ ।
विभिन्न तीन स्थानमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ – मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
उक्त सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसे पछि विहान साढे २ बजेबाट सडक अवरुद्ध सडक पहिरो पन्छाएसँगै विहान ८ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
चारकिलोमा गएको पहिरो ठूलो भएकाले पन्छाउन केही कठिन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जतिसक्दो छिटो पहिरो पन्छाएर सडकलाई दुईतर्फी रुपमा सञ्चालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
वर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि काम भइरहेको आयोजनाले बताए पनि प्रभावकारी हुन सकेको छैन ।
सडक विस्तारका क्रममा रहेकाले उक्त सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।