‘विमल पोदार हुन्डीका मास्टर माइन्ड’,२५ वर्षदेखि हुन्डी करोबारमा संलग्न 

‘विमल पोदार हुन्डीका मास्टर माइन्ड’,२५ वर्षदेखि हुन्डी करोबारमा संलग्न 

  • सोमवार, असार ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ, ११ असार ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका विमल पोदार २५ वर्षदेखि हुन्डी करोबारमा संलग्न रहेको खुलेको छ । सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानबाट उनी दुई दशकदेखि हुन्डी कारोबारमा संलग्न रहँदै आएको खुलेको हो ।

हुन्डीको रकम सुन तस्करीमा प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको समितिको भनाइ छ । विगतका रेकर्ड तथा कल डिटेल्सले यसलाई पुष्टि गरेको समितिका संयोजक सहसचिव पौडेलले बताए ।

उनले भने, ‘सुन तस्करीमा उनको गतिविधि सन्दिग्ध देखिएपछि पक्राउ ग-यौँ । यसक्रममा बयान लियौँ । विगतका रेकर्ड हेरियो । कल डिटेल्स अध्ययन भयो । सबै हेर्दा उनले वर्षौंदेखि हुन्डी करोबार गर्दै आएको खुल्यो । उनले पनि स्वीकार गरेका छन् ।’

समितिका अनुसार नेपालमा हुन्डी करोबार भित्र्याउने नै उनी हुन् । उनैको सिको गरेर नेपालमा हुन्डीका अन्य कारोबारी जन्मिएको समितिको दाबी छ । विगतमा उनले भन्सार हुँदै भारतीय रुपैयाँ नेपाल ल्याउँथे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सो रकम दुबई पठाउँथे । त्यसबापत सुन ल्याउँथे र भारतीय बजारमा बेच्थे । ६ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपले विदेश लैजान लागेको १ करोड २४ लाख रुपैयाँ विदेशी मुद्रासहित भारतीय रुपैयाँ बरामद भयो ।

घटनामा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठ मुछिए । पछि उनी सेवाबाट बर्खास्त भए । तस्करी हुँदै विदेश लैजान लागिएको सो रकम पोदारकै रहेको प्रहरी अनुसन्धानबाट खुले पनि उनी पक्राउ परेका थिएनन् । समितिका अनुसार उनले तस्करीको सुन र आवश्यक रकम धेरैजसो वीरगन्ज नाका हुँदै भारत लैजाने गर्थे । त्यसबाहेक उनले विराटनगरको जोगबनी र झापाको काकडभिट्टास्थित पानीटैंकी नाका पनि तस्करीका लागि प्रयोग गर्थे ।

समितिका संयोजक पौडलेले भने, ‘तस्करीका लागि सबैभन्दा धेरै प्रयोग भएको भन्सार वीरगन्ज देखिएको छ । त्यसबाहेक झापाको पानीटैंकी र विराटनगरको भन्सार पनि प्रयोग भएको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । थप तथ्य खुल्ने क्रममा छन् ।’

तस्करीमा रेमिटेन्सको प्रयोग
समितिका अनुसार तस्करीको सुनमा वैदेशिक रोजगारीमा गएका युवाको कमाइ प्रयोग हुने गरेको देखिएको छ । विशेषगरी दुबई र दुबई ट्रान्जिट बनाएर वैदेशिक रोजगारीमा जाने युवाको रेमिटेन्सबापतको रकम यस कार्यमा प्रयोग हुने गरेको समितिको दाबी छ । वैदेशिक रोजगारीमा गएका युवाले कमाएको रकम उतै खरिद हुने र आश्रित परिवारलाई नेपालस्थित तस्करले त्यसबापतको रकम उपलब्ध गराउने गरेको समितिको अनुसन्धानबाट खुलेको छ ।

  • नयाँपत्रिकाबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ