काठमाडौं, असार १० ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज सकिदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई, गृह र परराष्ट्र मन्त्रीहरु समेत चीन भ्रमणमा गएकाले ती मन्त्रालयमाथिको छलफल केही दिन पछि धकेलिएको हो ।
आज अन्तिम दिन ती मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयमाथि छलफलको कार्यसूची छ ।
प्रधानमन्त्री ओली सहितको टोली विहान काठमाडौं आएसँगै आजको बैठक दिउसो २ बजेका लागि राखिएको संघीय संसद सचिवालयले जनाएको छ ।
छलफलका क्रममा सांसदहरुको जिज्ञासामाथि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । सरकारले आगामी आर्थिक वर्ष सुरु हुनु अगावै पूर्ण बजेट पारितको तयारी गरेको छ ।
यसैबीच प्रदेश ५ को आजको प्रदेश सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेट खर्च व्यवस्थापनका लागि बनेको बिनियोजन विधेयक माथि छलफल शुरु हुँदै छ ।
सभामुख पूर्णबहादुर घर्ती हिजोसम्म काठमाडौमा रहेकाले कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।
प्रदेश सभाका सदस्य एवं तत्कालिन एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले बैठकबाट बिनियोजन विधेयक माथि छलफल शुरु हुने भएपनि कुन मन्त्रालय अन्र्तगतको छलफल शुरु हुने भन्ने टुंगो नलागेको बताउनु भयो ।
बुधवार बसेको प्रदेश सभा बैठकमा आगामी बर्षको बजेट माथिको सैद्धान्तिक छलफल सकिएपछि बिनियोजन विधेयक पेश भएको थियो ।
प्रदेश सभाबाट बिनियोजन विधेयक पारित भएपछि मात्र सरकारलाई आगामी वर्षको बजेट खर्च गर्ने बाटो खुल्नेछ ।