काठमाण्डौ, ९ असार ।
चाँगुनारायण–३ का २६ वर्षीय राकेश खाइजू शुक्रबार बा. ८२ प ८४७३ को स्कुटर चढेर कमल विनायकबाट ब्यासीतर्फ आउँदै थिए । पछाडि आउँदै गरेको बा.१ क ३५५९ को ट्रिपरले स्कुटरलाई ठक्कर दियो । उनी स्कुटरबाट उछिट्टिएर सडकमा पछारिए । उपचारका लागि नजिकैको इवामुरा अस्पताल त लगियो तर, बाँचेनन् ।
३० जेठमा जडिबुटीमा बनेपाकी २४ वर्षीय अस्मिता भण्डारी चढेको बा. ७० प ९३९९ नम्बरको स्कुटरलाई बा.४ ख ३५५८ नम्बरको ट्रिपरले ठक्कर दियो । भण्डारी स्कुटरबाट सडकमा पछारिइन् । उपचारका लागि बी एन्ड बी अस्पताल पु-याइयो । तर, उनी पनि बाँचिनन् ।
९ जेठमा काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.३ख. ६६७४ नम्बरको ट्रिपरले बा. ५६ प.१२२७ नम्बरको स्कुटरलाई ठक्कर दियो । स्कुटरमा सवार दोलखाको मेलुङ–६ का ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरे सडकमै पछारिए । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल लग्नै पाइएन । घटनास्थलमै मृत्यु भयो ।
यी त महिना दिनयता ट्रिपरको ठक्करले ज्यान गुमाएका केही प्रतिनिधि दुर्घटना मात्रै हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार, ट्रिपरबाट मात्रै उपत्यकाभित्र दैनिक चारवटा दुर्घटना हुन्छन् । उपत्यकाभित्र हुने सडक दुर्घटनाको यो झन्डै १४ प्रतिशत हो । उपत्यकाभित्र प्रत्येक दिन २८ वटा सडक दुर्घटना हुने गरेका छन् ।
महाशाखाको तथ्यांक हेर्दा ०७४/७५ मा उपत्यकाभित्र १० हजार तीन सय ५९ सवारी दुर्घटना भएका छन् । त्यसमध्ये ट्रिपरबाट मात्रै एक हजार चार सय १५ वटा दुर्घटना भएका छन् । त्यस्तै, बसबाट एक हजार एक सय ८५ दुर्घटना भएको तथ्यांक छ । माइक्रोबसबाट तीन सय ७७ र कार, जिप र भ्यानबाट तीन हजार चार सय ६३ दुर्घटना भएका छन् । मोटरसाइकलबाट तीन हजार सात सय, टेम्पोबाट ९८ र रिक्साबाट एक सय १९ दुर्घटना भएका छन् ।
गत तीन वर्षको तथ्यांक विश्लेषण गर्दा पनि कालो रङको नम्बर प्लेटमध्ये सबैभन्दा धेरै सवारी दुर्घटना ट्रिपरका कारण भएको देखिन्छ । यस अवधिमा उपत्यकाभित्र मात्रै ३० हजार दुई सय ९२ सवारी दुर्घटना भए । जसमा ट्रिपरबाट हुने सवारी दुर्घटनाको हिस्सा १३.२८ प्रतिशत छ । अर्थात यस अवधिमा उपत्यकाभित्र चार हजार २५ दुर्घटना ट्रिपरका कारण भए ।
महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले पनि ट्रिपरका कारण धेरै दुर्घटना हुने गरेको बताए । ‘कालो रङको नम्बर प्लेटमा चल्ने सवारी साधनमध्ये सबैभन्दा धेरै सवारी दुर्घटना ट्रिपरबाट भएको देखिन्छ । त्यसो हुँदा यसैका कारण धेरैले ज्यान गुमाएका छन् ।’
तीन वर्षमा ५ सय १६ को मृत्यु
महाशाखाको तथ्यांकअनुसार, सवारी दुर्घटनाका कारण तीन वर्षमा उपत्यकाभित्र मात्रै पाँच सय १६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरमा सवार हुनेहरू छन् । तीन वर्षको तथ्यांक हेर्दा मोटरसाइकल र स्कुटरमा सवार हुने दुई सय ४८ जनाले ज्यान गुमाएका छन् । एक सय ९७ पैदलयात्रीले यो अवधिमा सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् । त्यस्तै, ट्रिपरमा सवार १५, साइकलमा सवार १५, बसमा सवार २२, माइक्रोका दुई, टेम्पोका चार र कारका १३ जनाको मृत्यु भएको छ ।
महाशाखा प्रमुख एसएसपी पन्तले भने, ‘ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै मोटरसाइकलमा सवार र पैदल यात्री देखिन्छ ।’ उनी अधिकांश दुर्घटनामा ट्रिपर र बस संलग्न भएको बताए । यसको मुख्य कारण लेन अनुशासनको पालना नहुनु देखिएको उनको भनाइ छ । ‘अब लेन अनुशासन पालना गराउन कडाइ गरिन्छ । दुर्घटनाको यो दरलाई घटाइनेछ,’ एसएसपी पन्तले भने । यो अवधिमा थुपै घाइते पनि भएका छन् । घाइते भएका ११ हजार सात सय १३ मध्ये ६ सय ७७ जना गम्भीर घाइते
भएका छन् ।

लेन अनुशासन पालना नगर्दा दुर्घटना
वसन्त पन्त
प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा
शुक्रबार भक्तपुरमा सवारी दुर्घटना भयो । केही दिनअघि जडिबुटीमा दुर्घटना भएको थियो । दुवै घटनामा एक–एकको ज्यान गयो । घटना विश्लेषण गर्दा दुवै घटना लेन अनुशासन पालना नगर्दा भएको देखिन्छ । यसका अघि भएका दुर्घटनाको प्याटन हेर्दा पनि त्यस्तै देखिन्छ । यसको अर्थ अब प्रत्येक नागरिकलाई लेन अनुशासनबारे सचेत गराउन आवश्यक छ । यसका लागि काम पनि सुरु भइसकेको छ । हामीले सडकसडकमा पर्चा बाँडेका छौँ । चालकलाई राखेर लेन अनुशासनको शिक्षा दिएका छौँ । अब अरू पनि थुप्रै कार्यक्रम गर्ने पक्षमा छौँ । हाम्रो प्रयत्न दुर्घटना घटाउने र ज्यान बचाउनेतर्फ केन्द्रित हुनेछ ।नयाँपत्रिकाबाट

