७ असार,काठमाडौं ।
काठमाडौं । विद्यार्थी नेता रन्जित तामाङले आफ्नै संगठनका नेतालाई टाउको फोड्ने धम्की दिएका छन् । पूर्वमाओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका तामाङले आफ्नो फेसबुक वालमा गरिएको कमेन्टलाई लिएर बंगारा झार्ने र टाउको फोड्ने फोन धम्की दिएका हुन् ।
घटना करिब डेढ महिना पहिलेको हो । अध्यक्ष तामाङले काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसका तत्कालीन संगठनका ईकाई अध्यक्ष दीपक थापालाई फोनबाट राति धम्की दिएका हुन् । तामाङले आफ्नो फेसबुक वालमा राखिएको म्यासेजप्रति ईकाई अध्यक्ष थापाले लेखेका कमेन्टलाई लिएर थापालाई मूर्खतापूर्ण र निकृष्ट शब्दले गाली गर्दै बंगारा झारिदिने र टाउको फोड्दिने धम्की दिएका छन् ।
उनले थापालाई क्याम्पसमै आएर विद्यार्थी भेला गराएर टाउको फोडिदिने धम्की दिएको कुरा मोवाइल फोन रेकर्डमा प्रष्ट सुन्न सकिन्छ । फोन रेकर्डअनुसार तामाङले धम्की गत बैशाख २३ गते राति ९ः३० बजे दिएका हुन् । तामाङले सोही दिन आफ्नो फेसबुक वालमा संगठनले प्रदेश संयोजक तोक्नेबारे लिएको निर्णयबारे स्टाटस लेखेका थिए र, सोही विषयलाई लिएर थापाले वालमा कमेन्ट गरेका थिए ।
४ मिनेट २५ सेकेण्ड लामो अडियो रेकर्डमा तामाङले ‘हेल्लो दीपक जी तपाँईले अहिले भर्खरै मेरो फेसबुक वालमा के कमेन्ट गरेको ? तपाईले मविरुद्ध लागेर के गर्न खोजेको ? हेर, तँ बढी नै भइस् । तैले व्यक्तिगत हिसाबले निहुँ नै खोज्या जस्तो लाग्यो मलाई ?’ भनेर थापालाई प्रश्न गर्दै धम्कीपूर्ण भाषामा कुराकानी शुरु गरेका छन् ।
जवाफमा थापाले ‘मैले त्यस्तो तपाईलाई के गरेँ र’ भन्छन् । त्यसपछि तामाङ जङ्गिन थाल्छन् र ‘तैँले के खोजेको ?’ भनेर प्रश्न गर्छन् । उत्तरमा थापाले पनि ‘तपाईले चाहिं के भन्न खोज्नुभएको ? के गर्ने विचार छ ?’ भनेर प्रश्न फर्काउँछन् । जवाफमा तामाङ ‘मलाई तेरो बंगारा झार्ने विचार छ’ भन्ने धम्की दिन शुरु गर्छन् । उता थापाले ’बंगारा झार्ने मेरो अब’ जवाफ फर्काउँछन् ।
तामाङले थापालाई ’तिमी’ भनेर सम्बोधन गरेर ’तँ’ मा झर्छन् । र, धम्कीको शैलीमा भन्छन् ‘तँलै धेरै च्यालेन्ज गरिस् । मलाई ल क्याम्पसमा आएर विद्यार्थीको अगाडि तेरो टाउको फुटाउने रहर छ ।’ उता थापा भने संयमित भएर जवाफ फर्काइरहेका सुनिन्छन् ।
‘तँलाई मेरो विचार मन पर्दैन, मेरो व्यवहार मन पर्दैन भने अरुलाई जस्तो तैँले मसँग नगर, सभ्य ढंगले व्यवहार गर । तैँले गर्ने त्यही हो ? तेरो बुद्धि त्यही हो ? तँ मेरो विरुद्धमा व्यक्तिगत हिसाब लाग्या छस् हेर । तिमीजस्तै म व्यक्तिगत हिसाबले तिम्रो विरुद्धमा लागेँ भने तिमी सुरक्षाको कुरा गर्छौ । अहिलेसम्म म चुप लागेर बसेको छु । अब तँलाई ल क्याम्पसबाट एक मिनेट टिक्न दिइन्न । लखेटिदिन्नछु’ भन्दै तामाङले थापालाई धम्की दिएका छन् ।
जवाफमा थापाले ‘अध्यक्षज्यू, तपाँईले कुन हैसियतमा बोलिरहनु भाछ ? त्यो त थाहा छ नि, तपाई देशको संगठन चलाएर हिड्ने मान्छेले त्यसरी बोल्न मिल्छ ? सुहाउँछ ? अध्यक्ष भएर तपाईले कस्तो व्यवहार गर्नुभा छ ? सबैलाई थाहै छ । वालमा त ….. ले भन्या कुरा लेख्या छु । पढ्नु भएन र ? नचाहिंदो के नै छ र । विधिसम्मत कुरा गर्ने नै हो भने ल क्याम्पसका ईस्यूलाई तपाईँ कतिसम्म जर्जर बनाइरहनु भा छ, तपाईले सोच्नु भा छ ? तपाईँ यो देशको डन हो र ? तपाईको केही बिगारदिया त छैन’ भन्दै सफाइ दिइरहेका हुन्छन् । साथै ‘निहुँ त तपाईले खोज्नुभएको जस्तो लाग्यो मलाई । अध्यक्षजस्तो मान्छेले बोल्ने यस्तैरी नै हो ? कुन हैसियतमा बोलिरहनु भाछ तपाई ? त्यो त थाहा छ नि हैन ? भन्दै आफ्ना कुरा राख्छन् ।
’मैले कलेजमा के गर्या छु र त्यस्तो नराम्रो ? अनि तपाईले याद गर्नु भाछ, तपाई आफूले संगठनका अध्यक्ष भएर गर्या काम चाहिं ? मैले तपाईले जसरी व्यक्तिगत हिसाबले सोच्या पनि छैन, च्यालेन्ज गर्या पनि होइन’ भनेर थापाले प्रतिप्रश्न गरेका छन् ।
विवादको विषय नेपाल ल क्याम्पसभित्र सांगठनिक विषयलाई ’व्यक्तिगत’ बनाएको भन्दै दुई जनाबीच भनाभन भएको हो । कुराकानीमा थापाले क्यापसको विषयलाई अध्यक्ष तामाङले जर्जर बनाएको दाबी गरेका छन् भने तामाङले ‘क्याम्पसम गर्ने त्यही हो ?’ भन्दै ईकाई थापाबाट भएका गतिविधिलाई आफूमाथि थोपरेको गल्तीको रुपमा अर्थ्याउन खोजेका छन् ।
गत भदौमा कीर्तिपुरमा सम्पन्न अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट प्यानल पक्षधरताबीच शुरु भएको संगठनभित्रको असमझ्दारी ईकाईसम्म पोखिन आइपुगेको छ । ल क्याम्पसको ईकाई अध्यक्ष जानकारी नदिई तामाङ पक्षले केही दिनअघि मात्र ईकाईको सम्मेलन गरी खोटाङका प्रतीक कार्कीलाई अध्यक्षमा चयन गरेका छन् । यसपछि असमझ्दारीले विवादको रुप लिन पुगेको हो । थापा राष्ट्रिय सम्मेलनमा अनिल शर्मा प्यानलबाट सचिव पदका उम्मेदवार थिए । उनी चुनावी परिणाममा पराजित भए ।
प्रतिप्रश्न गर्दै थापाले ‘तपाईँ क्याम्पसमा आएर मेरो टाउको फुटाउने अब ? ममाथि आक्रमण गर्ने अब ? उसो आउनुस् क्याम्पसमा । स्वेलकम छ तपाईलाई’ भनेर कुरा राख्छन् । तर पूर्वअध्यक्ष तामाङले आक्रोशित हुँदै ‘मसँग विधिसम्मत, सभ्य तरिकाले कुरा गर, तँलाई क्यापसबाट एक मिनेटमा लेखिट्दिन्छु । ल हेरिबस् तेरो रहर पुरा गर्छु’ भन्दै कुराकानी बन्द हुन्छ । फोन कुराकानीको पूरै अंश अडियो रेकर्डमा सुन्न सकिन्छ । स्रोतका अनुसार थापामाथि तामाङ पक्षले अहिले पनि विभिन्न रुपबाट थे्रट दिइरहेको दाबी छ ।
अध्यक्ष तामाङले पार्टी एमालेसँग पार्टी एकता भएपछि पार्टीको निर्देशन र विधानविपरीत ल क्याम्पसमा ईकाई कमिटीको सम्मेलन केही दिनअघि मात्र सम्पन्न गरेको आरोप थापा पक्षको छ । एमाले र माके मिलेर (नेकपा) गठन भएपछि पार्टीका कुनैपनि जबसको सम्मेलन गर्ने कार्य्विधिबारे निर्णय भएको छैन ।
यस अडियो रेकर्डबारे बुझ्दा तामाङले अडियो रेकर्डमा बोलिएको कुरा आफ्नै भएको स्वीकारे । ‘एउटा विषय प्रसंगमा नेपला ल क्याम्पसका मेरै संगठनका ईकाई अध्यक्ष दीपक थापासँग त्यो कुरा भएको हो । तर दीपक जीलाई अनुशासन समितिको सिफारिसमा संगठनको प्रदेश समितिले साधारण सदस्यता नरहने गरी निस्कासनको कारवाही गरिसकेको छ’ तामाङले भने । साथै उनले थापा संगठनको विधि र अनुशासन नमान्ने पात्र भएको आरोप समेत लगाए । साथै थापाले क्याम्पसका तत्कालीन ईकाई संयोजक र तिनका घरपरिवारलाई समेत ज्यान मार्ने धम्की दिएको बताए । थापाले इकाई संगठनलाई ’प्यारालाइसिस’ बनाउन खाजेको आरोप समेत लगाए । र, उनले थापाले आफूलाई सार्वजनिक हिसाबले व्यक्तिगत रुपमै टर्चर र इरिटेड बनाउने हर्कत गरेको गुनासो तामाङ गरे ।
कुराकानी भएको लामो समयपछि अहिले अडियो ल्याएर एकतापछि आफूलाई संगठनको नेतृत्वमा आउनै नदिने योजनासाथ पार्टीको माथिल्लो तहबाटै थापालाई अघि सारिएको बताए । ‘एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि मलाई विद्यार्थी नयाँ संगठनको अध्यक्ष हुन नदिने खेल हो यो । राम्ररी बुझ्या छु । यी सब कुरा पार्टीका माथिल्ला ठूला मान्छे (नेता)हरुकै योजनामा यो सब भइरहेका छन्’ उनले भने ।