हेटौडा, असार ७ ।
प्रदेश ३ को प्रदेशसभा आज पनि बस्दैछ । दिउसो बस्ने आजको बैठकमा कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि समितिमा पठाउने तयारी छ ।
यसअघि सरकारले हिजो विनियोजन विधेयक र आर्थिक बर्ष २०७५÷७६ को शीर्षक तथा स्रोतगत व्यय अनुमानको विवरण प्रदेश सभामा पेश गरेको थियो । विनियोजन विधेयक माथिको छलफल भने आज नहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बिनियोजन विधेयकमा योजनाहरुको सूची समावेश नगरी व्यय अनुमानको विवरण मात्रै समावेश गरेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले विरोध जनाएपछि छलफल रोकिएको हो ।
सरकारले असार १ गते प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान माथिको छलफल सकिएर विनियोजन विधेयक प्रस्तुत हुँदा समेत योजनाहरुको सूची नल्याएको भन्दै कांग्रेसले विरोध जनाएपछि छलफल स्थगित गर्न सत्तापक्ष सहमत भएका थिए ।
सरकारले भने विनियोजन विधेयक पारित भएपछि मात्रै योजनाहरुको सूची पेश गर्ने तयारी गरेको थियो ।