५ असार,चितवन । अखिल (क्रान्तिकारी)का चितवन जिल्ला अध्यक्ष रमेश लामिछानेलाई आज बिहान प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारको पुष्टि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले गरेको छ ।
अध्यक्ष लामिछानेलाई सहिद स्मृति क्याम्पस टाँडीबाट गिरफ्तार गरिएको हो । गिरफ्तारको भत्सर्ना गर्दै अध्यक्ष लामिछानेलाई तुरुन्त रिहा गर्न सरकारसँग अखिल क्रान्तिकारीले माग गरेको छ ।
सरकारले विद्यार्थी नेता लामिछानेलाई बिनाकारण गिरफ्तार गरेर शैक्षिक क्षेत्रमा भइरहेको दलालीकरण, व्यापारीकरण र नीजिकरणको विरोधमा प्रतिपक्षी आठ विद्यार्थी संगठन संघर्षमा रहेका बेला परिवर्तनकारीलाई आतंकित पार्न खोजेको भन्दै रिहा नगरिए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।
सरकारले नेकपा र उसका निकट जनवर्गीय संगठनका नेता तथा कार्यकर्तामाथि निगरानी र धरपकड क्रमलाई पछिल्लो समयमा तीव्रता दिइरहेको अवस्था छ ।