काठमाण्डौ, ३ असार ।
सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामूदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेको छ ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरुमा इन्टरनेटको सेवा संचालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
सरकारी तथ्यांक अनुसार नेपालका १ सय ५० भन्दाबढि गाउँपालिकामा इन्टरनेट सेवाको अभावमा बैंकहरु संचालनमा आउन सकेका छैनन् । मन्त्री बास्कोटाले सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।
नयाँ पुस्तालाई प्रविधिमा पहुँच पु¥याउन सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नुको विकल्प नरहेको उहाँको भनाई छ ।
त्यसका लागि सरकारसँग स्रोत र साधनको पर्याप्त व्यवस्था नभएपनि सहयोगी हात रहेकोे मन्त्री बास्कोटाले बताउनुभयो । नेपालमा हाल २९ हजार सामूदायिक विद्यालय रहेकोमा ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध रहेको बताइएको छ ।