३ असार,काठमाडौँ । अफगानिस्तानको सरकरी सेना र विद्रोही तालिवानी लडाकुले सँगै इद मनाएका छन् । इद पर्वका लागि भन्दै दुवै पक्षले युद्धविराम गरेको घोषणापछि यो अवस्था सिर्जना भएको हो ।
सरकारले एकपक्षीय युद्धविरामलाई निरन्तरता दिएको छ । राष्ट्रपति असरफ गनीले तालिवानीलाई वार्तामा आउन आग्रह समेत गरेका छन् । इदको अवसरमा युद्धविराम गरिएपछि देखिएका विद्रोहीहरुले सरकारी सुरक्षा फौजसँग अंकमाल गर्नुको साथै सेल्फी खिचेका छन् । यो दृश्यलाई अभूतपूर्व भन्दै बीबीसीले समाचार प्रकाशित गरेको छ ।
टेलिभिजनमा गरिएको सम्बोधनमा राष्ट्रपति गनीले तालिबानहरूसँग विस्तृत वार्ता गर्न सरकार तयार रहेको बताए । “ती सबै विषयहरू र अन्य मागका सम्बन्धमा हामी शान्ति वार्तामा कुरा गर्न तयार छौँ” उनले भने ।
इद अल फित्रका अवसरमा तालिबान र सरकारी फौजहरु तथा अधिकारीहरू एकै ठाउँमा उभिएकाले सबै जना शान्तिको पक्षमा रहेको पनि देखाएको राष्ट्रपति गनीले बताए । उनले युद्धविरामको अवधिमा तालिबानी लडाकूहरूलाई स्वास्थ्य र मानवीय सहायताहरू उपलब्ध गराइने र तालेबान बन्दीहरूलाई आफ्ना परिवारसँग भेट्न दिइने पनि उल्लेख गरे।
यसैबीच तालिबान र सरकारी अधिकारी जम्मा भएको एउटा भिडमा गरिएको आत्मघाती हमलामा २५ जना मारिएका छन् । नाङ्गहारमा भएको उक्त हमलामा तालिबानका सदस्य र स्थानीय बासिन्दा बढी प्रभावित भएको र ५४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । उक्त आक्रमण इस्लामिक स्टेट समूहले आफूले हमला गराएको बताएको छ ।
युद्धविराम कसरी भयो ?
सरकारले बुधवारसम्म लागु हुने युद्धविराम घोषणा गरेको केही दिनपछि यसै महिनाको सुरूमा तालिबानले तीन दिने युद्धविराम घोषणा गरेका थिए ।
सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणपछि उनीहरूले नेतृत्व गरिरहेको सरकारलाई अपदस्थ गरिएपछि गरिएको यो पहिलो तालिबानी युद्धविराम हो।
“यो सबैभन्दा शान्तिपूर्ण इद रह्यो। पहिलो पटक हामीले सुरक्षित महसुस गर्यौँ । यो खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ,“ दक्षिण अफगानिस्तानको जाबुलका एक विद्यार्थीले भने।
युद्धविरामको समयमा तालिबान र सरकारी फौजहरूले मस्जिदहरूमा संयुक्त प्रार्थना पनि गरेका थिए।
फेब्रुअरी महिनामा राष्ट्रपति गनीले ‘सर्तरहित’ वार्ताका लागि आह्वान गरेका थिए । उनले कानुनको शासनको सम्मान गरे तालिबानलाई वैधानिक राजनीतिक शक्तिको मान्यता दिइने पनि बताएका थिए।
सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणपछि सत्ताबाट तालिबानलाई हटाइएयता भएका हिंसामा दशौँ हजार अफगानीले ज्यान गुमाइसकेका छन् ।