काठमाडौं ।
बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९८३ असार १३ गते खोटाङ जिल्लामा जन्मिएका थापाको गएराती २ बजे उनको निधन भएको हो ।
थापा लामो समयदेखि छाती र फोक्सोलको समस्याबाट ग्रसित उनको घरमै निधन भएको हो । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो ।
उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि अझ चर्चित बनेका थिए । उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए । भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।
ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका कलाकार थापाले सय भन्दा बढी चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् ।थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ ।
विश्वयुद्धदेखि अभिनयसम्म
खोटाङ जिल्लाको लामिडाँडामा जन्मेका उनले दोस्रो विश्वयुद्ध लडेका थिए। हिमालय टेलिभिजनसँगको कुराकानीमा उनले ‘१५/१६ वर्ष भएपछि आफूलाई दोस्रो विश्वयुद्धमा होमिदिएको’ बताएका छन्। सन् १९४२ देखि ४५ सम्म दोस्रो विशवयुद्ध लडेका उनी त्यहाँबाट फर्किएर नेपालमै सैनिक सेवामा भर्ति भएका थिए।
उनी २०४१ सालमा सैनिक सेवाबाट निवृत्त भएका थिए। नेपाल टेलिभिजन स्थपाना भएपछि उनले त्यहाँ ‘शाही नेपाली सैनिक’ कार्यक्रम सञ्चालनको मौका पाए। त्यसअघि नै रेडियो नेपालमा उनले सोही नामको कार्यक्रम संचालन गरिसकेका थिए।
सैनिक सेवामा हुँदा नै उनले ‘के घर के डेरा’ लगायत आधा दर्जन फिल्ममा अभिनय गरिसकेका थिए।
थापाले करिब ६७ वटा ठूला फिल्म, १०० भन्दा बढी टेलिफिल्म र एक दर्जन नाटकमा अभिनय गरेका छन्।
उनी गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट लगायत पदकबाट विभूषित भएका थिए।
उनका श्रीमती, छोरा र दुई छोरी छन्। दुई विवाह गरेका उनकी कान्छि श्रीमतीको २०६० सालमै निधन भइसकेको छ। उनका छोरा प्रकाश थापा अमेरिकामा छन्।