२४ जेठ,कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा संचालित ‘एकीकृत जनजागरण अभियान’ अन्तरगर्त देशभर जनतामा क्रान्ति र परिवर्तनको लहर फैलिदै गएको छ ।
गाउँगाउँमा एकीकृत फैलिएको जनक्रान्तिको लहरसँगै वैज्ञानिक समाजवाद स्थापनाको पक्षमा उभिएका विभिन्न उमेर समूहका नागरिक नेकपामा प्रवेश गरिरहेका छन् । साथै नेकपाद्वारा संचालित उक्त अभियानका क्रममा आयोजित जनसभा, कोणसभा, सहिद तथा बेपत्ता परिवार भेटघाट र अन्तरक्र्रिया कार्यक्रममा उत्साहित भई व्यापक मात्रा सभागिता जनाइरहेका छन् ।
बिहीबार मात्र कालिकोट रास्कोटमा विशाल जनसमूदाय उपस्थित जनसभा चलिरहेकै बेला एक सय भन्दा बढी युवा युवती नेकपामा प्रवेश गरेका छन् । स्युना सिप्खाना, फुकोट नानीकोट, राम्नाकोट, लाफालगायत क्षेत्रबाट गरी एकै खेपको घोषणामा ९६ जना युवायुवती नेकपामा प्रवेश गरे ।
नवप्रवेशीहरुलाई जनसमुदायको विशाल जनसभाले तालीले स्वागत गरेको थियो । उनीहरुलाई जनसभाका प्रमुख अतिथि नेकपाका पोलिट ब्यूरो सदस्य निर्माण, अतिथि ब्यूरो ईन्चार्ज एटम बसीले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । यो लहर देशभर चलिरहेको बताउँदै प्रमुख अतिथि निर्माणले युवादेखि वृद्ध–वृद्धासम्मले एकीकृत जनक्रान्तिमा सहभागिता जनाउन सकिने बताए ।
पार्टीले नयाँ र पुराना सबै पुस्तालाई समेटेर देशमा अलपत्र पारिएका जनयुद्धका उद्देश्य पूरा गर्न एकीकृत जनक्रान्तिलाई विजयको शिखरमा नपुर्याएसम्म विश्राम नलिने उद्घोष गरे । क्रान्तिप्रति जनलहर देखेर ओली–प्रचण्ड नेतृत्वको दलाल सरकारले नेकपा नेता कार्यकर्ता र समर्थकलाई दमन, गिरफ्तार र झुठा मुद्दा लगाउने तहमा उत्रिएको र यसबाट क्रान्तिकारीलाई एकईन्च फरक नपर्ने बताए ।
प्रमुख निर्माण र ब्यूरो सदस्य एटमले देशबाट दलाल, भ्रष्टचारी र दमनकारी, राष्ट्रघातीलाई खरानी पार्न नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिमा सहभागी हुन र सहयोग गर्न जनसभामा अपिल गरे ।
राज्यले सधैं हरेक सुविधा र अधिकारबाट वञ्चित गराएको भन्दै अधिकार र परिवर्तनका लागि आफूहरु क्रान्तिको यात्रामा एकसाथ लागेको नवप्रवेशी युवाहरुको भनाई थियो । जनसभा नाचगान र नृत्य प्रस्तुत गरिएको थियो ।


