२२ जेठ, काठमाडौं ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टे सार्वजनिक कार्यक्रममा नै एक महिलालाई ओठमा चुम्बन गरेपछि बिबादमा तानिएका छन् ।
यसअघि पनि महिलालाई अनुचित व्यवहार गरेको आरोप लागेका ७३ वर्षीय डुटार्टेले आइतबार दक्षिण कोरियामा एक सभालाई सम्बोधन गर्दैगर्दा ती महिलालाई भिडबाट बोलाएर चुम्बन गरेपछि विवादमा तानिएका हुन् ।
फिलिपिनी मूलका दुई महिलालाई राष्ट्रपतिको मञ्चमा एक पुस्तकको निःशुल्क प्रति दिन बोलाइएको थियो । उनले पहिले एक महिलालाई अंगालो मारे र गालामा चुम्बन गरे । त्यसपछि उनले अर्की महिलालाई ओठमा चुम्बन गरे ।
यो दृश्यले भीडको ध्यान आकर्षण र्गयो सभामा धेरैजसो दक्षिण कोरियामा कार्यरत फिलीपिनी मूलका कामदारहरु थिए ।
राष्ट्रपति डुटार्टेको यस्तो हर्कत देखेपछि फिलिपिन्सको ग्याब्रिएला समूहले निन्दा गर्दै उक्त कार्यलाई घिनलाग्दो भएके र डुटार्टे महिलाविरोधी भएको आरोप लगाएको छ ।
तर डुटार्टेले जसलाई चुम्बन गरेका थिए ती महिलाले भने राष्ट्रपतिको उक्त चुम्बनमा दुर्भावना जस्तो कुनै कुरा नभएको बताएकी छिन् ।
महिला अधिकारवादी समूहले सोमबार यो घटनाको बारेमा निन्दा गर्दै भनेको छ, ‘यस्तो बारम्बार दोर्होयाइने हर्कत मनोरञ्जक होला तर खासमा यो उनको घट्दो लोकप्रियताको वास्तविकता छिपाउनको लागि हो । यसको कारण उनको कार्यकालमा भएका गैरकानूनी हत्या, विवादित कर सुधार र भष्ट्राचारसँग जोडिएका काण्डहरु हुन् ।’
राष्ट्रपतिमाथि महिलालाई दुर्व्यवहार गरेको आरोप बारम्बार लागे पनि फिलिपिन्स र विदेशमा रहेका फिलिपिनी कामदारहरुको बीचमा उनी धेरै नै लोकप्रिय छन् ।
फिलिपिनी मूलका कामदारका अनुसार उनीहरुले डुटार्टेलाई मन पराउनाको कारण उनले फिलिपिन्सको राम्रो छवि प्रस्तुत गरेका छन् ।