दोहा, २३ जेठ ।
कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार झन बलियो भएको बताउनुभएको छ ।
कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ ।
गत वर्षको जुन ५ देखि सुरु भएको कतारमाथिको यस नाकाबन्दीको वर्ष दिन पूरा भएको छ । यस बीचमा उसलाई छिमेकीहरुले सवै कूटनीतिक सम्वन्ध तोड्नुका साथै हवाई र स्थलमार्गबाट सामान आयात निर्यातमा पनि प्रतिबन्ध लगाइएको छ ।
नाकाबन्दीको क्रम अहिले पनि जारी नै छ हाम्रो आन्तरिक बल, सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा कुनै पनि कमी आएको छैन– कतार संकटको वर्ष्दिनको दिन विदेशमन्त्री थानीले भन्नुभयो ।
खाडी क्षेत्रको यस तनाव साउदी अरबको नेतृत्वमा सिर्जना गरिएको थियो । कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ) ले साथ दिएका थिए ।
विदेशमन्त्री थानीले जुन ५ को स्मरण गर्दै आफ्नो ट्वीटर अकाउन्टमा लेख्नुभएको छ– कतारमाथि काल्पनिक रुपमा दोषारोपण गरिएको आज वर्ष दिन पुगेको छ तर पनि यहाँका नागरिक थाकेका वा गलेका छैनन् बरु अरु सशक्त बनेका छन् ।
कतारमाथि उसले ‘आतङ्कबाद’ लाई सहयोग पु¥याएको आरोप छ । त्यसैगरी उसले इरानसँग आवश्यकभन्दा पनि बढी मात्रामा नजिकिएर काम गरेको आरोप अरु खाडी छिमेकी देशहरुको छ ।
नाकाबन्दी लगाएका मुलुकले कतारलाई लगाएका आरोपको उसले खण्डन पनि गरेको छ । कतारले उनीहरुका आरोप अस्विकार र खण्डन गर्दै आइरहेको छ र अहिले पनि ती सबै आरोपहरु काल्पनिक र भ्रामक रहेकोले पुष्टि पनि हुन नसकेको बताएको हो ।
ती छिमेकी देशहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द गरेका छन् भने हवाई सेवा बन्द गरेका छन् । कतारका हवाई जहाजहरु अरु देशको आकासमा उड्न प्रतिबन्ध लगाइएको छ भने अरु देशले पनि कतारको आकासमा उडाएका छैनन् ।
यसैबीच विदेशमन्त्री थानीले कतार उहिलेदेखि र अहिले पनि ती छिमेकीसँग शान्तिपूर्ण रुपमा वार्ता गर्न तयार रहेको भन्दै वार्ताका लागि आह्वान पनि गर्नुभएको छ ।
उहाँले उक्त ट्वीटर अकाउन्टमा आफ्ना छिमेकी देशहरुसँग वार्ताको लागि कतारले जहिले पनि ढोका खुलै राखेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ– हामी कहिल्यै वार्तालाई इन्कार गरेनौँ र अहिले पनि जुनसुकै समयमा वार्ता गर्न तयार छौँ ।
यस कतार संकटको समाधानका लागि वार्ताको माध्यमका लागि अर्काे खाडी देश कुवेतले पनि प्रयास जारी नै राखेको थियो । गएको सेप्टेम्बर महिनामा पनि वार्ताका लागि तायरी गरिएको थियो ।