काठमाडौं,२१ जेठ ।
अदालतले १७ किलोग्राम सुन तस्करी मुद्दामा एकजना भरियालाई १० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । तर, त्यसमा संलग्न तस्कर भने अज्ञात छन् ।
जिल्ला अदालत लमजुङले बिहिबार मनाङ नासो–९ दानाक्युका ३१ वर्षीय पासाङ लामालाई १० वर्ष ६ महिना कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कैद सजाय सुनाएको हो ।
यससँगै उनलाई ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ । उनले बिगोबमोजिम थप छुट्टै जरिवाना तिर्नुपर्नेछ । बिगोबमोजिम आठ करोड १६ लाख १४ हजार नौ सय ६० रुपैयाँ जरिवाना तोकिएकोे अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । यो तत्कालीन अवस्थामा सुनको मूल्यबराबरको हो ।
अदालतको फैसलाअनुसार उनले सुन ल्याउन प्रयोग गरेको बा.५८प ४२९१ नम्बर मोटरसाइकल, हेल्मेट र मोबाइल पनि जफत गरिएको छ । सुन ओसार्ने भरियाका रूपमा प्रयोग गरिएका थिए । यसमा संलग्न अन्य व्यक्तिको भने पहिचानसमेत गरिएको छैन ।
यसअघि दुईपटक सामान ओसार्ने काम गरेको भए पनि त्यसमा सुन रहेको बारेमा आफूलाई थाहा नभएको उनले बयान दिएका थिए ।
उनलाई गत १६ कात्तिकमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा सुनसहित पक्राउ गरिएको थियो । उनी गत १७ पुसदेखि जिल्ला कारकारमा थुनामा छन् । नयाँपत्रिकाबाट