२० जेठ,कपिलवस्तु । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भवानी प्रसाद खरेलले मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौता तथा अन्य किसिमका दस्तावेजमा लेखिएका कुरा एउटा आधार भएको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाले जिल्लाको चन्द्रौटामा आयोजना गरेको ‘मानव अधिकार शिक्षा’ विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका खरेललेपीडित जनताहरूलाई न्याय दिलाउना मानव अधिकारकर्मीको मुख्य भूमिका रहेको बताए ।
“मानव अधिकारको कुरा गर्दा तपाईं जहाँ हुनुहुन्छ, त्यहाँको हावापानी र माटो अनुसारको व्यवहार गर्न जरुरी हुन्छ” अध्यक्ष खरेलले भने । उनले मानव अधिकारको दृष्टिले के गर्न हुने, के गर्न नहुने, मानव अधिकार भनेको के हो, नेपालको संविधानले के परिभाषित गरेको छ र राष्ट्रिय मानव अधिकार आयोगले के परिभाषित गरेको जस्ता आधारभूत जानकारी सबैले पाउनुपर्ने बताए ।
कपिलवस्तु क्षेत्र नं. ३(१) का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले हरेक नागरिकले सोँच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै विद्रोही र सुरक्षाकर्मीलाई सजग गराउने काम नै मानवअधिकारकर्मीको भएको बताए ।
कार्यक्रममा पूर्वराज्यमन्त्री ईश्वर दयाल मिश्र, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, शिवराज नगरपालिका कार्यपालिका सदस्य शान्ता सेन, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलिमिया, महिला अधिकारकर्मी सन्तोषी पाण्डेयलगायतले देशमा शान्ति, अमन चयन कायम गर्न मानव अधिकारर्मीको अहम् भूमिका हुनेमा जोड दिएका थिए ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडाले कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारेका थिए । प्रतिष्ठानका उपाध्यक्ष भूमिराज भट्टराईले स्वागत मन्तब्य र राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय प्रमुख बुद्धनारायण साहनीले सहजीकरण गरेका थिए ।
शिवराज नगरपालिकाको सहयोग रहेको कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधि, प्रतिष्ठानका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।