एजेन्सी, जेठ २० ।
रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको छ ।
साउदी अरबले उक्त हतियार प्रणालीलाई नष्ट गर्न जुनकुनै उपाय अवलम्बन गर्ने र कतार विरुद्ध सैन्य कारबाही गर्न तयार हुने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको फ्रान्सेली दैनिक पत्रिका द मोन्डले जनाएको छ ।
यस समाचार प्रति फ्रान्सको राष्ट्रपतिको कार्यालयका एवं विदेश मन्त्रालयबाट कुनै औपचारिक प्रतिक्रिया भने आएको छैन ।
खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्स लगायतको सहयोगमा साउदी अरबले अतिवादी इस्लामिक समूहहरू तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेको छ ।
आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै केही खाडीमुलुकले लगाएको आर्थिक नाकावन्दी अन्यायपूर्ण भएको बताउदै आएको छ ।