काठमाडौ, २० जेठ ।
चीनले दक्षिण चीन सागरस्थित टापुहरुमा अस्त्र राख्न पाउनु आफ्नो अधिकार भएको जिकिर गरेको छ ।
चीनले आफ्ना छिमेकीलाई तर्साउन खोजेको अमेरिकी आरोपप्रति प्रतिक्रिया दिँदै चीनले ती टापु चिनियाँ क्षेत्र रहेकाले आफ्नो सार्वभौमिकता रक्षा गर्नु चीनको वैधानिक अधिकार रहेको प्रष्ट गरेको हो ।
सिंगापुरमा एउटा सुरक्षा सम्मेलनमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले राखेको धारणाको जवाफ फर्काउँदै चिनियाँ सैन्य अधिकारी जनरल हि लिइले अरु मुलुकबाट आउने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सैह्य नहुने पनि प्रष्ट पार्नुभयो ।
म्याटिसले चीनले पानीजहाज प्रतिरोधी क्षेप्यास्त्र, जमिनबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र र विद्युतीय उपकरण काम नलाग्ने बनाइदिने ज्यामरहरु दक्षिण चीन सागरमा राखेको बताउनु भएको थियो ।
यस्ता अस्त्र धम्क्याउनका लागि तैनाथ गरेको उहाको भनाइ थियो । दक्षिण चीन सागरको विवादित टापुमाथि चीनसहित भियतनाम, फिलिपिन्स, मलेसिया, ताइवान र ब्रुनाई लगायत ६ मुलुकले आ–आफ्नो भएको दावी गर्दै आएका छन् ।