मोरङ, जेष्ठ १९ ।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै प्रहरीले ठेकेदार प्रतिनिधि र कर्मचारीलाई आज पक्राउ गरेको छ ।
तुदी रमण निर्माण सेवाका साइट म्यानेजर रविराज पन्त, सुपरभाइजर विनय साह र आयोजनाका साइट सुपरभाइजर देवराज बराललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
अनुगमनका क्रममा कमसल निर्माण सामग्री प्रयोग भइरहेकोले उनीहरुलाई पक्राउ गरिएको र कारबाहीका लागि व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरी पठाउने प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।
रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडकअन्तरगत विराटनगरस्थित महेन्द्रचोकमा नाला निर्माण गर्ने क्रममा कमसल निर्माण सामग्री प्रयोग गरिरहेको अनुगमन समितिले फेला पारेको जानकारी गराएपछि पक्राउ गरेको उनले बताए ।
विराटनगर महानगर प्रमुख भीम पराजुलीले महानगर क्षेत्रमा भइरहेको निर्माणको अनुगमन गर्ने क्रममा उक्त ठाउँमा मापदण्ड अनुसारको काम नभइरहेको पाएपछि तत्काल कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गरेको थियो ।
व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरीका प्रमुख बिनोदकुमार मौवारले निर्माण कम्पनीहरुलाई पटक पटक गुणस्तरीय काम गर्न निर्देशन दिइरहदा पनि अटेरी गरेकाले प्रहरीले पक्राउ गर्नु उचित भएको बताए ।
तुदी रमण जेभि काठमाडौंले विराटनगरस्थित महेन्द्र चोकदेखि बरगाछीसम्म २२ सय मिटरमा ६ लेन सडक निर्माणको ठेक्का पाएको छ ।
परियोजनाले निर्माण कम्पनीलाई महेन्द्रचोकदेखि बरगाछीसम्म विराटनगरको मूल बजार क्षेत्र भएकोले चैत महिनाभरीमा सडककोबीच भागमा ९ मिटर कालोपत्रे गर्ने सर्तमा ठेक्का दिएको थियो तर जेठ बित्न लाग्दासमेत कालोपत्रेको काम पूरा गरेको छैन ।
निर्माणधीन सडक र सडकको दुबैपट्टी खनेको नालाले सर्वसाधारण समस्या परेका छन् । अति व्यस्त उक्त सडकमा सवारीसाधनले उडाएको धुलोले विराटनगरका बासिन्दा मार्कामा परेका छन् । विराटनगरदेखि इटहरीसम्म दुबैपट्टी ढल निर्माणले पनि सडक धुलाम्मे बनेको छ ।