१९ जेठ,काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले देशभर विरोध र कोणसभा कार्यक्रम गरेको छ । सरकारले मजदुरहरु आफ्नो अधिकारका लागि शान्तिपूर्ण जुलुस, धर्ना, सभा तथा मागपत्र राख्न पाउने संवैधानिक अधिकार कुण्ठित गरेको भन्दै विरोधमा महासंघले सयौं मजदुरहरुको सहभागितामा विरोध र कोणसभा सम्पन्न गरेको हो ।
महासंघद्वारा पूर्वघोषित कार्यक्रम अनुसार शनिबार राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा सयौं मजदुरहरुको सहभागितामा विरोध र्यालीपछि कोण सभा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष विजयराज प्यासीले ओली सरकार मजदुरका अधिकार कटौती हुनेगरी नियम कानून बनाउन उद्यत रहेको भन्दै चर्को विरोध गरे ।
‘वर्तमान सरकार मजदुरको अधिकार कुण्ठित पार्दै शान्तिपूर्ण माग राख्ने, विरोध प्रदर्शन, धर्ना दिने तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममाथि हस्तक्षेप गरिरहेको छ । हामी सरकारको तानाशाही व्यवहारको घोरभत्सर्ना गर्छौं’ उपाध्यक्ष प्यासीले सभालाई सम्बोधन गर्दै भने । मजदुरको शान्तिपूर्ण जुलुस, विरोध प्रदर्शनलाई समेत रोकेर यो राज्य प्रशासन फासीवादीको यात्रा गरिरहेको धारणा सभामा राखे ।
साथै प्यासीले महासंघका अध्यक्ष अमर झाँक्रीलाई तत्काल रिहा माग माग गरे । सर्वोच्च अदालतको आदेशविपरीत पुनः गिरफ्तार गरेर झुठा मुद्दामा हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न सरकारसँग माग गरे । ‘यो देशमा सरकार नै आफ्नो अदालतको आदेश मान्दैन भने रटाएर मात्र शान्ति र समृद्धि सम्भव छैन’ उनले भने ।
सभामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकालले सरकार नागरिकको अधिकार छिन्नेतर्फ अघि बढेको भन्दै परिवर्तन र अधिकारको लडाईलाई कुनै शक्ति रोक्न नसक्ने बताए । उनले महासंघद्वारा घोषित आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरे । मजदुर र विद्यार्थी शक्ति परिवर्तन मुख्य हिस्सा भएको उल्लेख गर्दै अध्यक्ष ढकालले मजदुरको श्रम र आन्दोलनको सम्मान गर्न सरकारसँग आग्रह गरे ।
महासंघका अध्यक्ष झाँक्री रोल्पा, केन्द्रीय सदस्य टुंगनाथ तिमल्सिना मकवानपुरलगायत मजदुर नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्ने र झुठा मुद्दा लगाएर फसाउने कार्य राज्यका प्रशासनले तीव्र पारेको जनाउँदै विरोधमा आजदेखि असार १८ गतेसम्म एक महिने संगठानिक अभियान सहित संघर्षका कार्यक्रम शुरु गरिएको छ ।
झुठा मुद्दामा बन्दी नेतालगायत सबै मजदुरलाई तत्काल रिहा नगरिए त्यसबाट उत्पन्न परिस्थितिको सम्पूणै जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी उनीहरुले दिएका छन् । महासंघका सचिव देव परियारले अनाहकमा मजदुरहरुको गिरफ्तार श्रंखला रोक्ने पनि सरकारसँग माग गरे । उनले सरकार तानाशाही बन्दै गएको र क्रान्तिकारीहरु चुप लागेर नबस्ने चेतावनी दिए ।