शिव डुम्रे / बुटवल,जेष्ठ १८ ।
शुक्रबार विहानैदेखी अबरुद्ध भएको बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रको तिनाउँ गाउँपालिका ३ मा पर्ने हेडवक्स नजिकै भिषण पहिरो गयो ।
पहिरोमा परी पाल्पाका मोहन रेश्मीको मृत्यु भयो । पहिरोसँगै बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, पोखरा, बाग्लुङ्ग निस्कने एकमात्र बाटो बन्द भएपछि यात्रुहरु मर्कामा परे । झण्डै १४÷१५ घण्टापछि खुलेको बाटोको अवस्था अत्यान्तै नाजुक छ र जतिबेला पनि पहिरो झर्नसक्ने अवस्था छ ।
यसबाट बच्नको लागी यात्रा गर्दा माथितिर हेर्दै सवारी हुईक्याउनुको विकल्प छैन । बर्षेनि बर्खायाममा मात्रै होईन हिउँदा समेत सुख्खा पहिरोबाट त्यहाँ ज्यान गुमाउनेको संख्या धेरै पुगिसकेको छ ।
बुटवलको सिद्धबाबा मन्दिर पार गरी पाल्पा प्रवेशद्धार देखी ३ किलोमिटर मार्ग सडक भन्दापनि मृत्युमार्गको रुपमा परिचित छ ।
बर्षेनी दजर्नाै मान्छेहरुको हताहत हुने सो क्षेत्रमा सरकारको लगानी भने बालुवामा पानि हुँदै आएको छ । शुक्रबार पहिरो खस्दै गर्दा अघिल्लो दिनसम्म पनि सकडछेउछाउमा तारजाली भर्ने काम जारी थियो ।
सडक विभागले यस क्षेत्रमा पटकपटक गरी विभिन्न प्रविधि भित्र्याउने योजनाहरु पनि नबनाएको भने होईन योजना र प्रविधि परीक्षणकै नाममा करोडौं खर्च भसेकेको यस क्षेत्रको विकल्पमा अन्य सडकहरु सर्वे समेत धेरैपटक गरिसकिएको छ। रकफल बेरियर्स, हाई पर्फमेन्स रकनेट, डेब्री फ्रो बेरियर्स लगायतका प्रविधिहरु परीक्षण गरेपनि यि प्रविधिको प्रयोग अहिलेसम्म गरिएको छैन ।

सिद्धबाबाको यो डरलाग्दो सडकबाहेक तीन वटा वैकल्पिक बाटामा रूपन्देहीको खैरेनीबाट गोठादी, झ्डेवाहुँदै पापाको बाँसटारी जोड्ने सडक, बुटवलबाट पश्चिमदेखी शान्तीचोक हुँदै नुवाकोट (रूपन्देही) हुँदै पाल्पाको झुम्सा निस्कने सडक र चरङ्गेबाट ज्यामिरेहुँदै झुम्सा जोड्ने सडक विकल्पको रुपमा सर्वेसमेत भैसकेका हुन् तर यी सबै लामा दूरीका विकल्प हुनेछन्। खैरेनी–बाँसटारी खण्डमा सामान्य ट्रयाक खुल्न लागेको छ, तर यो रुट ५० किमी लामो छ।
दुई वटा पुल चाहिने नुवाकोट–झुम्सा सडक १९ किमी लामो हुनेछ भने चरङ्गे–बाँसटारी सडक १६ किमीको । यि विकल्पको बीचपनि गत सरकारी बजेटमा समेत सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा सडकखण्डलाई विशेष ममर्त सम्भार गरिने भनेर बजेट छुट्याईए पनि यसको कुनै कार्याविधि तयार पारिएको छैन ।
जब पहिरो जान्छ अनि मान्छेको ज्यान लिन्छ तब सडक विभागदेखी सरकारसम्मले सिद्धबाबाको विकल्पको कुरा गर्छन तर जब सिद्धबाबा चुप रहन्छ सम्बन्धित निकायपनि चुप रहन्छ ।
नेपालकै खतरा सडकमध्ये पर्ने यो ३ किलोमिटर क्षेत्रको सडकखण्ड ले बर्षेनि यहाँका जनतालाई शास्ती दिईरहेको छ । अन्ततः जति बजेट खन्याएपनि यसको सार्थकता नदेखिने यस सडकको बैकल्पिक बाटो खोल्नैपर्छ । अब ३ वटा बैकल्पिक क्षेत्रलाई बर्गिकरण गरी त्यसबाट सडकस्तरोन्नती गर्नुपर्ने आवश्यकता देखिन्छ ।





